काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको डाँडापारि महाभारत गाउँपालिकामा भइरहेको व्यावसायिक कफी खेतीले देशका अन्य क्षेत्रका कृषकहरूको ध्यान आकर्षित गरेको छ। गण्डकी प्रदेशको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकाका करिब ६० जना कृषकहरूले महाभारतमा सञ्चालन भइरहेको कफी खेती, प्रविधि र उत्पादन प्रणालीको अवलोकन गरेका छन्।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी नेतृत्वको टोलीले कफी खेतीको अवलोकन गर्दै बाँझो जमिनलाई उपयोगमा ल्याएर गरिएको यस अभ्यासले ग्रामीण अर्थतन्त्र रूपान्तरण गर्न सक्ने धारणा व्यक्त गरेको छ। कफी उत्पादक सहकारी सङ्घका अध्यक्ष आनन्द सुवेदीले महाभारतको मोडललाई मध्यपहाडी क्षेत्रमा विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।
महाभारत गाउँपालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ भन्ने नारासहित ‘एक वडा एक उत्पादन’ अभियान सञ्चालन गर्दै कफी खेतीलाई मुख्य आर्थिक आधार बनाउने प्रयास गरिरहेको छ। इजरायली प्रविधिको मल्चिङ, थोपा सिँचाइ, छायाँ विधि र आधुनिक नर्सरी व्यवस्थापनमार्फत उत्पादन वृद्धि गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार हालसम्म करिब ३ हजार २०० रोपनी क्षेत्रमा व्यावसायिक कफी खेती विस्तार भइसकेको छ। तीन लाखभन्दा बढी बिरुवा वितरण गरिएकोमा यस वर्ष मात्रै थप एक लाख बिरुवा उत्पादन गरिएको छ। उत्पादन र बजार विस्तारसँगै महाभारतबाट वार्षिक ८० टनभन्दा बढी कफी निर्यात हुन थालेको पनि जनाइएको छ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार कफी खेतीले विदेश पलायन घटाउने, बाँझो जमिन उपयोग गर्ने र गाउँमै रोजगारी सिर्जना गर्ने सम्भावना देखाएको छ। कृषकहरूले महाभारतको मोडललाई “कृषि पर्यटन र उत्पादनको संयुक्त उदाहरण”का रूपमा विकसित गर्न सकिने बताएका छन्।





























प्रतिक्रिया