ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ। हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, प्रख्यात अंकज्योतिष, वास्तुविद् एवं नाडी ज्योतिष विशेषज्ञ डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यो साता मेष राशिका व्यक्तिहरूका लागि निकै ऊर्जावान, सकारात्मक र प्रगतिशील रहनेछ। मंगल ग्रह आफ्नै राशिमा रहेको कारण साहस, आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि हुनेछ। रोकिएका कामहरू पूरा हुनेछन् भने नयाँ योजना बनाउन पनि सफलता मिल्नेछ। भाग्यको साथ मिल्दा मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुनेछ।
साताको सुरुवातमा चन्द्रमाको प्रभावका कारण धन, सम्पत्ति र आर्थिक पक्षमा सुधार आउने संकेत छ। बोली र व्यवहारका कारण समाजमा सम्मान तथा प्रतिष्ठा बढ्नेछ। प्रभावशाली व्यक्ति तथा साथीभाइको सहयोगले पुराना समस्या समाधान हुन सक्छन्।
कार्य क्षेत्रमा तपाईंको नेतृत्व क्षमता र कामको प्रशंसा हुनेछ। सरकारी वा प्रशासनिक क्षेत्रमा रोकिएका काम पूरा हुने सम्भावना छ। व्यापारमा साझेदारीबाट राम्रो लाभ मिल्न सक्छ। व्यवसाय विस्तारका लागि समय अनुकूल रहेको छ। तर लगानी गर्दा राम्रोसँग सोचविचार गरेर मात्र निर्णय लिनु उचित हुनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने योग छ।
साताको पूर्वार्धमा लामो दूरीको यात्रा हुन सक्छ। यात्रा फलदायी रहनेछ र नयाँ सम्बन्ध तथा सम्पर्क विस्तारमा सहयोग पुग्नेछ। साताको मध्य तथा अन्त्यतिर नयाँ आम्दानीका स्रोत खुल्ने र आर्थिक अवस्था बलियो बन्ने संकेत छन्। विद्यार्थीहरूले मेहनतअनुसार राम्रो सफलता प्राप्त गर्नेछन्। कानुनी वा अदालतसम्बन्धी विषयमा पनि अनुकूल परिणाम मिल्न सक्छ।
पारिवारिक जीवन सुखद रहनेछ। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुन सक्छ। पुराना साथीहरूसँग भेटघाट तथा रमाइलो समय बित्नेछ। आध्यात्मिक क्षेत्रमा रुचि बढ्दा मानसिक शान्ति महसुस हुनेछ। प्रेम सम्बन्धमा मिठास र निकटता बढ्नेछ। अविवाहित व्यक्तिहरूका लागि विवाह वा नयाँ सम्बन्धको सम्भावना बलियो देखिन्छ। जीवनसाथीसँग सानो यात्रा वा रमाइलो समय बिताउने अवसर मिल्न सक्छ। दाम्पत्य जीवनमा प्रेम, विश्वास र समझदारी बढ्नेछ।
स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। शरीरमा ऊर्जा कायम रहनेछ तर अत्यधिक कामका कारण मानसिक तनाव बढ्न सक्ने भएकाले पर्याप्त आराम, योग र व्यायाममा ध्यान दिनु राम्रो हुनेछ। हतारमा कुनै ठूलो निर्णय नलिनुहोस् र रिसमाथि नियन्त्रण राख्नुहोस्।
उपाय- प्रतिदिन हनुमान चालिसाको पाठ गर्नु शुभ हुनेछ ।
वृष राशि
यो साता वृष राशिका व्यक्तिहरूका लागि मिश्रित फलदायी रहनेछ। सूर्य र बुध आफ्नै राशिमा रहेको कारण बौद्धिक क्षमता, योजना बनाउने शक्ति र निर्णय क्षमता बढ्नेछ, तर स्वभावमा केही चिडचिडापन वा आवेग पनि देखिन सक्छ। साताको सुरुवातमा चन्द्रमाको प्रभावले मानसिक सक्रियता बढ्नेछ र आम्दानी बढाउने नयाँ उपायहरू खोज्ने प्रयास सफल हुन सक्छ। समाजमा तपाईंको सक्रियता बढ्नेछ र तपाईंको सल्लाहलाई मानिसहरूले महत्व दिनेछन् । व्यवसायमा केही उतारचढाव आउन सक्छ, तर बुध ग्रहको प्रभावले तपाईं आफ्नो चातुर्य र बुद्धिमत्ताबाट लाभ लिन सफल हुनुहुनेछ। जागिर गर्ने व्यक्तिहरूलाई नयाँ जिम्मेवारी र चुनौती सामना गर्नुपर्ला, तर मेहनतको राम्रो फल प्राप्त हुनेछ। आर्थिक पक्षमा खर्च बढ्ने सम्भावना भएकाले बचतमा विशेष ध्यान दिनु आवश्यक छ। पैसा लेनदेन गर्दा सावधानी अपनाउनुहोस् र कुनै पनि कागजात नपढी हस्ताक्षर नगर्नुहोस्।
विद्यार्थीहरूले पढाइ र परीक्षामा सफलता पाउन थप एकाग्रता र मेहनत गर्नुपर्ने देखिन्छ। कामकाजको चाप बढ्न सक्ने भएकाले समय व्यवस्थापनमा ध्यान दिनु राम्रो हुनेछ।
पारिवारिक तथा वैवाहिक जीवनमा साना–साना विवाद वा मतभेद आउन सक्छन्। जीवनसाथीसँग धैर्य र समझदारी अपनाउनु आवश्यक हुनेछ। ससुराली पक्षसँग सम्बन्ध बिग्रिन सक्ने संकेत भएकाले बोली र व्यवहारमा संयमता राख्नुहोस्। सन्तान पक्षबाट आएको कुनै चिन्ताले मन अलि अशान्त बनाउन सक्छ।
यस साता परिवारसँग धार्मिक स्थलको यात्रा हुने सम्भावना छ। पुराना साथीभाइबाट सहयोग प्राप्त हुनेछ। नयाँ सम्बन्ध बनाउँदा पुराना सम्बन्धलाई बेवास्ता नगर्नुहोस्। प्रेम सम्बन्धमा सावधानीपूर्वक अगाडि बढ्नु राम्रो हुनेछ र सम्बन्धको अनावश्यक प्रदर्शनबाट टाढा रहनु उचित हुनेछ।
स्वास्थ्यतर्फ आँखा वा घाँटीसम्बन्धी समस्या देखिन सक्छ। मानसिक तनावलाई बढ्न नदिन पर्याप्त आराम, राम्रो निद्रा र सन्तुलित खानपानमा ध्यान दिनु आवश्यक छ।
पैसाको कारोबार र कागजी काममा विशेष सतर्कता अपनाउनुहोस्। रिस र आवेगमा निर्णय नगर्नुहोस्।
उपाय- दैनिक “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्र १०८ पटक जप गर्नु शुभ हुनेछ।
मिथुन राशि
यो साता मिथुन राशिका व्यक्तिहरूका लागि मिश्रित फलदायी रहनेछ। साताको सुरुवातमा कामकाजको अतिरिक्त बोझ बढ्न सक्छ। जागिर गर्ने व्यक्तिहरूले कार्यक्षेत्रमा केही चुनौती तथा दबाबको सामना गर्नुपर्ने देखिन्छ। मेहनत र निरन्तर प्रयासपछि मात्र अपेक्षित सफलता प्राप्त हुनेछ।
साताको पूर्वार्धमा जागिरपेशा व्यक्तिहरूको अनिच्छित स्थानमा सरुवा हुन सक्ने वा मन नपरेको जिम्मेवारी प्राप्त हुन सक्ने योग छ। यसले मन केही अशान्त बनाउन सक्छ। व्यवसाय गर्नेहरूले नयाँ योजना वा लगानी गर्दा सोचविचार गरेर मात्र निर्णय लिनु उपयुक्त हुनेछ। साझेदारीमा गरिएका कामबाट भने लाभ प्राप्त हुने सम्भावना छ।
करियर क्षेत्रमा उन्नतिको अवसर खुल्ने संकेत छन्। रोजगारीको खोजीमा रहेका युवाहरूले शुभ समाचार प्राप्त गर्न सक्छन्। व्यापारमा राम्रो नाफा हुने योग छ। विशेषगरी दीर्घकालीन लगानी लाभदायक बन्न सक्छ। कार्यशैलीमा सुधार आउनेछ र वरिष्ठ अधिकारीहरूको सहयोग प्राप्त हुनेछ।
साताको उत्तरार्धमा छोटो वा लामो दूरीको यात्रा हुन सक्छ। यस अवधिमा पुराना साथीभाइ वा चिनजानका व्यक्तिहरूसँग भेटघाट हुने सम्भावना छ। पारिवारिक जीवन सामान्यतया सुखद रहनेछ। घरमा कुनै शुभ वा मांगलिक कार्यको योजना बन्न सक्छ। सन्तान पक्षबाट खुशीको समाचार प्राप्त हुन सक्छ, तर कहिलेकाहीँ सन्तानको व्यवहार वा भविष्यलाई लिएर चिन्ता पनि बढ्न सक्छ।
प्रेम सम्बन्धमा अनावश्यक तर्क-वितर्क नगर्नु राम्रो हुनेछ। धैर्य र समझदारी अपनाएमा सम्बन्ध अझ मजबुत बन्नेछ। कठिन परिस्थितिमा जीवनसाथीको राम्रो साथ र सहयोग प्राप्त हुनेछ, जसले मनोबल बढाउनेछ। मित्रतामा विश्वास र आत्मीयता बढ्नेछ।
स्वास्थ्यतर्फ घरकी ज्येष्ठ महिलाको स्वास्थ्यले चिन्ता बढाउन सक्छ। साथै मानसिक थकान र तनावबाट बच्न पर्याप्त आराम र नियमित दिनचर्यामा ध्यान दिनु आवश्यक छ।हतारमा निर्णय नगर्नुहोस् र आर्थिक लगानी गर्दा राम्रोसँग विचार गर्नुहोस्।
उपाय- दैनिक विष्णु सहस्रनामको पाठ गर्नु शुभ हुनेछ।
कर्कट राशि
यो साता कर्कट राशिका व्यक्तिहरूका लागि आर्थिक दृष्टिले निकै शुभ रहनेछ। लाभ भावमा ग्रहहरूको अनुकूल स्थितिका कारण आम्दानी बढ्ने तथा धन सञ्चयमा वृद्धि हुने संकेत देखिन्छ। साताको सुरुवातमा चन्द्रमाको प्रभावले नयाँ आम्दानीका स्रोत खुल्नेछन्। रोकिएका कामले गति लिनेछन् र सामाजिक तथा व्यावसायिक क्षेत्रमा मान–सम्मान बढ्नेछ।
शनि ग्रहको प्रभावले आध्यात्म, ध्यान तथा गूढ विषयप्रति आकर्षण बढ्नेछ। तपाईं आफ्नो कामप्रति गम्भीर र जिम्मेवार बन्नुहुनेछ। समाजमा तपाईंको कार्यशैलीको प्रशंसा हुनेछ।
व्यवसायमा रोकिएको पैसा फिर्ता प्राप्त हुने सम्भावना छ। व्यापार तथा लगानीका क्षेत्रमा भाग्यले साथ दिनेछ। जागिर गर्ने व्यक्तिहरूको नेतृत्व क्षमता प्रकट हुनेछ र वरिष्ठ व्यक्तिहरूबाट प्रशंसा प्राप्त हुन सक्छ। रोजगारीको खोजीमा रहेका व्यक्तिहरूले साथीभाइको सहयोगबाट सफलता पाउने योग छ। विद्यार्थीहरूका लागि शिक्षा क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत छन्। प्रतिस्पर्धात्मक क्षेत्रमा विजय प्राप्त गर्न सकिनेछ।
पारिवारिक जीवन शान्त र सुखद रहनेछ। सम्बन्धहरू राम्रोसँग निभाउन सफल हुनुहुनेछ। सन्तानको सफलता वा प्रगतिले मन प्रसन्न रहनेछ। पुरानो विवाद समाधान हुन सक्छ र मित्रतामा मिठास बढ्नेछ। सामाजिक गतिविधिमा सक्रियता बढ्ने देखिन्छ।
प्रेम सम्बन्धमा केही चुनौती आउन सक्छन्, तर समझदारी र संवादमार्फत समाधान सम्भव हुनेछ। जीवनसाथी वा प्रेमी/प्रेमिकाप्रति इमानदार रहनुहोस्। साताको अन्त्य प्रेम व्यक्त गर्नका लागि अनुकूल रहनेछ।
बुधादित्य राजयोगको प्रभावले यो साता विशेष शुभ रहनेछ। नयाँ योजना सफल बन्ने सम्भावना छ। लगानीका लागि समय राम्रो भए पनि छोटो अवधिको जोखिमपूर्ण कारोबार वा सट्टेबाजीबाट टाढा रहनु उचित हुनेछ। स्वास्थ्यतर्फ बदलिँदो मौसमका कारण रुघाखोकी वा चिसोसम्बन्धी समस्या आउन सक्छ। मानसिक तनावबाट बच्नुहोस्। पर्याप्त पानी तथा तरल पदार्थ सेवन गर्नुहोस् र नियमित व्यायाममा ध्यान दिनु राम्रो हुनेछ। आफ्ना गोप्य योजना सबैसँग साझा नगर्नुहोस् र लुकेका शत्रुहरूप्रति सतर्क रहनुहोस्।
उपाय- सोमबार शिवलिंगमा दूध र जल अर्पण गर्नुहोस्। साथै दैनिक “ॐ नमः शिवाय” मन्त्रको जप गर्नु शुभ हुनेछ।
सिंह राशि
यो साता सिंह राशिका व्यक्तिहरूका लागि व्यस्तता, प्रतिष्ठा र प्रगतिले भरिएको रहनेछ। करियर तथा कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ र वरिष्ठ अधिकारीहरू तपाईंको कामबाट प्रभावित हुनेछन्। नयाँ अवसर तथा जिम्मेवारी प्राप्त हुन सक्छ। व्यापार क्षेत्रमा नयाँ सम्झौता वा सहकार्यको सम्भावना रहेको छ, जसले भविष्यमा राम्रो उन्नति दिलाउन सक्छ। साझेदारीमा गरिएका कामबाट लाभ मिल्ने योग छ।
यद्यपि यो साता सामान्य फलदायी रहने भएकाले स्वास्थ्य र सम्बन्धप्रति विशेष ध्यान दिनु आवश्यक हुनेछ। साताको सुरुवातमा खानपान र दैनिक दिनचर्यामा लापरवाही नगर्नुहोस्। मौसम परिवर्तनका कारण सामान्य स्वास्थ्य समस्या आउन सक्छ। मानसिक तनाव कम गर्न योग, ध्यान र पर्याप्त आराममा ध्यान दिनु राम्रो हुनेछ।
आर्थिक पक्ष सुधार गर्न विशेष मेहनत गर्नुपर्ने देखिन्छ। आम्दानीका स्रोत बढ्न सक्ने भए पनि खर्च पनि बढ्ने सम्भावना छ। अनावश्यक खर्च नियन्त्रण नगरेमा साताको अन्त्यतिर आर्थिक दबाब महसुस हुन सक्छ। जमापुँजीको सदुपयोग गर्नुहोस् र खुला हातले खर्च गर्ने बानीबाट टाढा रहनुहोस्।
जागिर गर्ने व्यक्तिहरूले कार्यक्षेत्रमा वरिष्ठ तथा सहकर्मीहरूसँग तर्क-वितर्क नगर्नु राम्रो हुनेछ। सानो कुरालाई ठूलो नबनाई समझदारी र तालमेलका साथ काम गर्दा सफलता प्राप्त हुनेछ। मेहनत, धैर्य र विवेकको प्रयोगले मात्र राम्रो परिणाम मिल्ने देखिन्छ।
विदेशमा शिक्षा वा करियरको योजना बनाइरहेका व्यक्तिहरूका लागि सकारात्मक संकेत देखिन्छ। विद्यार्थीहरूले पनि आफ्नो लक्ष्यतर्फ राम्रो प्रगति गर्न सक्नेछन्।
पारिवारिक जीवनमा सामान्य उतारचढाव रहन सक्छ। आफ्ना कुरा राख्दा अरूको भावना र विचारको पनि सम्मान गर्नु आवश्यक हुनेछ। जीवनसाथीसँग सानो विषयमा मनमुटाव हुन सक्ने भएकाले धैर्य र संयम अपनाउनु राम्रो हुनेछ। प्रेम सम्बन्धमा हतार नगरी विश्वास र समझदारी कायम राख्नु आवश्यक छ। अनावश्यक खर्च, रिस र अहंकारबाट टाढा रहनुहोस्। सम्बन्धमा संवाद र धैर्य कायम राख्नुहोस्।
उपाय- प्रत्येक आइतबार सूर्यदेवलाई जल अर्पण गर्नुहोस् तथा आदित्य हृदय स्तोत्रको पाठ गर्नु शुभ हुनेछ।
कन्या राशि
यो साता कन्या राशिका व्यक्तिहरूका लागि स्वास्थ्य, सम्बन्ध र कार्यक्षेत्रका दृष्टिले केही चुनौतीपूर्ण रहन सक्छ। साताको सुरुवातमा मौसमी रोग वा पुरानो स्वास्थ्य समस्याले शारीरिक तथा मानसिक तनाव दिन सक्छ। त्यसैले खानपान, आराम र दिनचर्यामा विशेष ध्यान दिनु आवश्यक हुनेछ।
कार्यक्षेत्र तथा व्यवसायमा विरोधीहरू सक्रिय हुन सक्ने भएकाले केही उतारचढावको अवस्था देखिन सक्छ। जागिरपेशा व्यक्तिहरूले धैर्य र समझदारीका साथ काम गर्नु राम्रो हुनेछ। आर्थिक पक्ष मजबुत बनाउन थप मेहनत र प्रयास गर्नुपर्ने देखिन्छ। अनावश्यक वस्तु वा काममा खर्च बढ्न सक्ने भएकाले मन केही चिन्तित रहन सक्छ।
यद्यपि साताको मध्य तथा उत्तरार्धतिर व्यापार तथा करियरमा नयाँ अवसर प्राप्त हुने संकेत छन्। व्यवसायमा नयाँ योजना सफल बन्न सक्छ र उन्नतिको बाटो खुल्नेछ। जागिरमा नेतृत्व क्षमता र कामको प्रशंसा हुनेछ। धन, सम्पत्ति वा कानुनी विषयमा चलिरहेका काम तपाईंको पक्षमा जान सक्ने सम्भावना छ। लगानीबाट लाभ प्राप्त हुने योग देखिन्छ। रोजगारीको खोजीमा रहेका व्यक्तिहरूका लागि नयाँ अवसर खुल्न सक्छन्।
विद्यार्थीहरूको मन पढाइबाट अलि विचलित हुन सक्छ, तर मेहनत गरेमा कठिन परीक्षा वा प्रतिस्पर्धामा सफलता प्राप्त गर्न सकिनेछ। सन्तान पक्षसँग सम्बन्धित कुनै विषयले चिन्ता बढाउन सक्छ।
साताको उत्तरार्धमा अचानक धार्मिक स्थलको यात्रा हुने सम्भावना छ। यस अवधिमा पारिवारिक जिम्मेवारी पनि बढ्न सक्छ। दाजुभाइ–दिदीबहिनीसँग सानो विषयमा विवाद हुन सक्ने भएकाले बोलीमा संयम राख्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा तेस्रो व्यक्तिको हस्तक्षेपका कारण मन दुख्न सक्छ। प्रेम तथा दाम्पत्य सम्बन्धलाई सुदृढ बनाउन संवाद र विश्वासको सहारा लिनु आवश्यक हुनेछ। कठिन परिस्थितिमा पनि माता–पिता र जीवनसाथीको सहयोग प्राप्त हुनेछ। अनावश्यक खर्च, विवाद र तनावबाट टाढा रहनुहोस्। स्वास्थ्यप्रति लापरवाही नगर्नुहोस्।
उपाय- बुधबार गणेशजीलाई दूबो अर्पण गर्नुहोस् तथा दैनिक “ॐ गं गणपतये नमः” मन्त्रको जप गर्नु शुभ हुनेछ।
तुला राशि
यो साता तुला राशिका व्यक्तिहरूका लागि करियर, व्यापार र आर्थिक पक्षमा प्रगतिदायक रहनेछ। ग्रहहरूको अनुकूल प्रभावका कारण कार्यक्षेत्रमा राम्रो सफलता प्राप्त हुनेछ। निर्णय क्षमता बलियो बन्नेछ र टोलीसँग मिलेर काम गर्ने क्षमता अझ प्रभावकारी हुनेछ। जागिरपेशा व्यक्तिहरूले सहकर्मीहरूसँग राम्रो तालमेल राखेमा उत्कृष्ट परिणाम प्राप्त गर्न सक्नेछन्।
व्यवसाय गर्ने व्यक्तिहरूका लागि नयाँ सम्झौता वा लाभदायक साझेदारीको सम्भावना देखिन्छ। यद्यपि ठूलो लगानी गर्दा सोचविचार गरेर मात्र निर्णय लिनु उचित हुनेछ। पुरानो लगानीबाट अचानक लाभ प्राप्त हुन सक्छ। आम्दानी बढ्ने संकेत भए पनि धन आगमनमा केही ढिलाइ वा अवरोध आउन सक्छ, त्यसैले बचतमा ध्यान दिनु आवश्यक हुनेछ। करियरसँग सम्बन्धित नयाँ योजना बनाउने र भविष्यबारे गम्भीर सोच गर्ने समय पनि यही साता रहनेछ।
प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता पाउन थप मेहनत गर्नुपर्ने देखिन्छ। आफ्नो कार्यशैलीमा धैर्य, अनुशासन र समझदारी कायम राख्दा राम्रो उपलब्धि हासिल हुनेछ।
पारिवारिक तथा वैवाहिक जीवनमा संवादको शैली निकै महत्वपूर्ण रहनेछ। जीवनसाथी वा व्यावसायिक साझेदारसँग अनावश्यक विवाद हुन सक्ने भएकाले बोलीमा नरमपन र संयमता राख्नु आवश्यक छ। सम्बन्धलाई मजबुत बनाउन धैर्य र समझदारी अपनाउनुहोस्। स्वास्थ्यतर्फ पेट, दाँत वा भाइरल संक्रमणसम्बन्धी सामान्य समस्या आउन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोस् र बाहिरी खानेकुराबाट सकेसम्म टाढा रहनु राम्रो हुनेछ। नियमित आराम र स्वच्छ दिनचर्याले स्वास्थ्य सन्तुलित राख्न मद्दत गर्नेछ। ठूलो लगानी, रिस र अनावश्यक विवादबाट टाढा रहनुहोस्। आर्थिक योजना स्पष्ट राख्नु आवश्यक हुनेछ।
उपाय- दैनिक आफ्नो इष्टदेवको ध्यान गर्नुहोस् तथा आवश्यक पर्ने व्यक्तिलाई दान गर्नु शुभ हुनेछ।
वृश्चिक राशि
यो साता वृश्चिक राशिका व्यक्तिहरूका लागि सफलता, प्रगति र खुशीले भरिएको रहनेछ। मंगल ग्रहको प्रभावले शत्रुमाथि विजय प्राप्त गर्ने क्षमता बढ्नेछ भने आत्मविश्वास र मानसिक दृढता मजबुत बन्नेछ। साताको सुरुवातमा चन्द्रमाको प्रभावले दाम्पत्य जीवन तथा साझेदारीका काममा सकारात्मक परिणाम मिल्नेछ। सूर्य र बुधको अनुकूल प्रभावका कारण व्यक्तित्व आकर्षक बन्नेछ र समाजमा मान–सम्मान बढ्ने संकेत छन्।
कार्यक्षेत्रमा तपाईंले प्रभावशाली निर्णय लिन सफल हुनुहुनेछ। जागिरमा पदोन्नति तथा प्रगतिको बलियो सम्भावना देखिन्छ। व्यापारमा नयाँ तथा ठूला अवसर प्राप्त हुन सक्छन्। पुरानो मेहनतको राम्रो परिणाम अब प्राप्त हुन थाल्नेछ। भविष्यका योजना सफल बन्ने संकेत छन्। साताको उत्तरार्ध विशेष रूपमा करियर र दीर्घकालीन व्यवसायिक निर्णयका लागि अनुकूल रहनेछ।
विद्यार्थीहरूका लागि प्रतिस्पर्धा तथा परीक्षामा मनपर्ने सफलता प्राप्त हुने योग छ। लगानीका लागि समय अनुकूल रहेको छ र धन तथा सम्पत्तिमा वृद्धि हुन सक्छ। आम्दानी राम्रो रहने भए पनि अनावश्यक खर्च र हतारमा खरिद गर्ने बानीबाट टाढा रहनु राम्रो हुनेछ। दीर्घकालीन आर्थिक सुरक्षाका लागि बचत र आर्थिक योजनामा ध्यान दिनु आवश्यक छ।
पारिवारिक तथा सामाजिक जीवन सुखद रहनेछ। जीवनसाथी तथा साझेदारसँग सम्बन्ध अझ मजबुत बन्नेछ। मित्र तथा परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा पनि समझदारी र आत्मीयता बढ्नेछ। यद्यपि साताको सुरुवाततिर अनावश्यक जोखिम लिनु उपयुक्त हुने छैन। आफ्नो ऊर्जा सही दिशामा प्रयोग गर्नुहोस्। रिस र अहंकार नियन्त्रणमा नराखेमा बनेका काम बिग्रिन सक्ने सम्भावना छ, त्यसैले धैर्य र संयम आवश्यक हुनेछ।
स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। मानसिक ऊर्जा र उत्साह बढ्नेछ, तर अत्यधिक कामको दबाबले थकान हुन सक्ने भएकाले पर्याप्त आराम गर्न नबिर्सनुहोस्।
रिस, अहंकार र हतारमा लिइने निर्णयबाट टाढा रहनुहोस्। आर्थिक निर्णय सोचविचार गरेर मात्र गर्नुहोस्।
उपाय- मंगलबार हनुमानजीलाई चोला चढाउनुहोस् तथा सुन्दरकाण्डको पाठ गर्नु शुभ हुनेछ।
धनु राशि
यो साता धनु राशिका व्यक्तिहरूका लागि भाग्य, अवसर र प्रगतिले भरिएको रहनेछ। करियर, शिक्षा तथा आर्थिक क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुने संकेत देखिन्छ। कार्यक्षेत्रमा नयाँ परिवर्तन तथा अवसर प्राप्त हुन सक्छन्। जागिरपेशा व्यक्तिहरूका लागि पदोन्नति वा जिम्मेवारी बढ्ने सम्भावना छ। कामको दबाब बढी रहने भए पनि तपाईं आफ्नो नेतृत्व क्षमता र आत्मविश्वासका कारण चुनौती पार गर्न सफल हुनुहुनेछ।
व्यवसायमा विस्तारका योजना सफल बन्न सक्छन्। व्यापारसम्बन्धी यात्रा हुने योग पनि देखिन्छ। यद्यपि आर्थिक विषयमा अनुभवी व्यक्तिको सल्लाह लिएर मात्र ठूलो निर्णय गर्नु उपयुक्त हुनेछ। लगानी गर्दा हतार नगर्नुहोस्। आम्दानी स्थिर रहनेछ र नयाँ आयस्रोत खुल्ने सम्भावना छ। रोकिएको पैसा फिर्ता प्राप्त हुन सक्छ, तर अचानक खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ।
विद्यार्थीहरूका लागि समय अनुकूल रहनेछ। पढाइ तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने योग छ। विदेशमा शिक्षा वा नयाँ अवसर खोजिरहेका व्यक्तिहरूले सकारात्मक समाचार प्राप्त गर्न सक्छन्। यद्यपि राम्रो परिणामका लागि एकाग्रता र नियमित मेहनत आवश्यक रहनेछ।
पारिवारिक जीवनमा सामान्य उतारचढाव आउन सक्छ। परिवारका सदस्यहरूसँग विचार नमिल्न सक्ने भएकाले धैर्य र समझदारी अपनाउनु राम्रो हुनेछ। सम्बन्धमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोस्। दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग प्राप्त हुनेछ। सामाजिक जीवनमा सम्मान र प्रतिष्ठा बढ्नेछ। मित्रहरूको सहयोग गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ।
प्रेम सम्बन्ध सामान्य रहनेछ। प्रेमी वा प्रेमिकासँग समय बिताउन कठिन हुन सक्छ, तर संवादको कमी हुन नदिनुहोस्। सम्बन्धलाई गहिराइबाट बुझ्ने प्रयास गर्नु राम्रो हुनेछ।
स्वास्थ्यतर्फ अत्यधिक कामका कारण थकान, कमजोरी वा मानसिक तनाव बढ्न सक्छ। नियमित आराम, सन्तुलित खानपान र व्यवस्थित दिनचर्यामा ध्यान दिनु आवश्यक हुनेछ। कानुनी विवादबाट टाढा रहनुहोस् र विरोधीहरूको चालप्रति सतर्क रहनुहोस्। आर्थिक निर्णय हतारमा नगर्नुहोस्।
उपाय- दैनिक “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस्। साथै भगवान विष्णुको पूजा गरी आवश्यक पर्ने व्यक्तिलाई पहेंलो वस्तु दान गर्नु शुभ हुनेछ।
मकर राशि
यो साता मकर राशिका व्यक्तिहरूका लागि करियर, स्वास्थ्य र आर्थिक पक्षमा मिश्रित तर ऊर्जावान रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछन् र तपाईंको मेहनत तथा कामको प्रशंसा बढ्नेछ। जागिरपेशा व्यक्तिहरूले वरिष्ठ अधिकारी तथा बॉससँग कुराकानी गर्दा विनम्रता र धैर्य अपनाउनु आवश्यक हुनेछ। अत्यधिक आत्मविश्वास वा हतारमा लिइएको निर्णयले हानि पुर्याउन सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ।
व्यापारका क्षेत्रमा सरकारी क्षेत्र वा उच्च पदस्थ व्यक्तिहरूसँगको सम्पर्कबाट लाभ प्राप्त हुन सक्छ। धैर्य र समझदारीका साथ गरिएको निर्णयले भविष्यमा राम्रो सफलता दिलाउनेछ। साझेदारी व्यवसाय तथा नयाँ योजनाबाट लाभको सम्भावना देखिन्छ। आर्थिक रूपमा लगानी तथा शेयर बजारबाट राम्रो लाभ प्राप्त हुन सक्छ, तर कुनै पनि निर्णय सोचविचार गरेर मात्र गर्नु उपयुक्त हुनेछ।
विद्यार्थीहरूका लागि समय मिश्रित फलदायी रहनेछ। अध्ययनमा ध्यान दिनु आवश्यक हुनेछ किनभने साथीभाइसँगको रमाइलो वा घुमफिरले ध्यान भंग हुन सक्छ। सफलता प्राप्त गर्न अध्ययन र मनोरञ्जनबीच सन्तुलन कायम गर्नु आवश्यक हुनेछ। पारिवारिक तथा प्रेम जीवनमा अहंकार वा घमण्डबाट टाढा रहनु राम्रो हुनेछ। जीवनसाथी वा प्रेमी/प्रेमिकाको भावना बुझ्ने प्रयास गर्नुपर्छ। सप्ताहको मध्यतिर साथीभाइसँग सानो यात्रा वा मनोरञ्जनात्मक कार्यक्रम हुने सम्भावना छ, जसले मन प्रसन्न बनाउनेछ।
स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। साताको सुरुवातमा आफूलाई ऊर्जावान र अनुशासित महसुस हुनेछ, तर कामको बीचमा पर्याप्त आराम लिनु आवश्यक हुनेछ।अत्यधिक उत्साहमा आएर कुनै गलत निर्णय नगर्नुहोस्। धैर्य र संयम अपनाउनु आवश्यक छ।
उपाय- शनिबार शनि चालीसाको पाठ गर्नुहोस् र पिपलको रूखमुनि दीप प्रज्वलन गर्नु शुभ हुनेछ।
कुम्भ राशि
यो साता कुम्भ राशिका व्यक्तिहरूका लागि मिश्रित तर सकारात्मक परिणाम दिनेछ। तपाईंका रचनात्मक विचारहरूले भविष्यमा आर्थिक लाभको बाटो खोल्नेछन्। समाजमा मान–सम्मान बढ्नेछ र तपाईंको प्रभाव विस्तार हुने संकेत देखिन्छ। पारिवारिक व्यापारमा घरका ठूला सदस्यहरूको सहयोग प्राप्त हुनेछ, जसले कामलाई अझ सहज बनाउनेछ।
राहु ग्रह आफ्नै राशिमा रहेको कारण जीवनमा केही नयाँ अवसर र परिवर्तनको संकेत देखिन्छ । साथै, चन्द्रमाको प्रभावले घर, भूमि, सवारी साधन तथा पारिवारिक सुखमा सुधार आउने सम्भावना छ। आध्यात्मिक झुकाव बढ्नेछ र मानसिक शान्ति प्राप्त हुनेछ। भाग्यले पनि यस साता साथ दिने देखिन्छ।
व्यापार तथा व्यवसायमा ठूला सम्झौता वा डिल फाइनल हुन सक्छ। जागिरपेशा व्यक्तिहरूका लागि कार्यक्षेत्रको वातावरण अनुकूल रहनेछ र वरिष्ठहरूको सहयोग प्राप्त हुनेछ। धन तथा सम्पत्तिसम्बन्धी विषयमा राम्रो लाभ मिल्ने सम्भावना छ। लगानीका लागि समय निकै अनुकूल रहेको छ, जसले भविष्यमा आर्थिक मजबुती दिनेछ। विद्यार्थीहरूले पनि आफ्नो मेहनतको राम्रो फल प्राप्त गर्नेछन्। करियरमा नयाँ योजना सफल बन्ने संकेत छ।
पारिवारिक जीवनमा सन्तुलन र सहयोगको वातावरण रहनेछ। सामाजिक जीवनमा तपाईंको सम्मान र प्रतिष्ठा बढ्नेछ। यद्यपि भाइबहिनीको स्वास्थ्यमा केही खर्च वा चिन्ता आउन सक्छ, त्यसैले ध्यान दिनु आवश्यक हुनेछ।
प्रेम तथा सम्बन्धमा सामान्य सुधार र समझदारी बढ्नेछ। मानसिक रूपमा शान्त र स्थिर महसुस हुनेछ। आर्थिक निर्णय सोचविचार गरेर मात्र गर्नुहोस् र परिवारका स्वास्थ्य विषयमा लापरवाही नगर्नुहोस्।
उपाय- शनिबार भगवान शनि देवको पूजा गर्नुहोस्, कालो तिल दान गर्नुहोस् र “ॐ शं शनैश्चराय नमः” मन्त्रको १०८ पटक जप गर्नु शुभ रहनेछ।
मीन राशि
यो साता मीन राशिका व्यक्तिहरूका लागि सामान्यतया राम्रो रहनेछ। आम्दानीको स्थिति सुदृढ रहनेछ र साताभर धन आगमन निरन्तर रहने संकेत छ, जसले तपाईंका धेरै कार्यहरू पूरा गर्न सहयोग गर्नेछ। व्यापारीहरूले आफ्नो व्यवसाय विस्तारका लागि सोचविचार गरेर निर्णय लिनु आवश्यक हुनेछ। जागिरपेशा व्यक्तिहरूले मेहनतको राम्रो फल प्राप्त गर्नेछन् र नयाँ जिम्मेवारीहरू पाउन सक्छन्, जसले भविष्यमा पदोन्नतिको आधार बनाउनेछ।
शनि ग्रह आफ्नै राशिमा रहँदा तपाईंमा अनुशासन, धैर्य र आत्मविश्वास बढ्नेछ। साताको सुरुवातमा चन्द्रमाको प्रभावले साहस, पराक्रम र दाजुभाइ–दिदीबहिनीसँगको सम्बन्धमा सुधार ल्याउनेछ। मंगल ग्रहको प्रभावले धन सञ्चयमा सहयोग मिल्नेछ। भाग्यको साथले कठिन परिस्थितिमा पनि समाधान निकाल्न सकिनेछ।
करियरमा निरन्तर मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। व्यापारमा सानो यात्रा लाभदायक बन्न सक्छ। आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ। लगानी गर्दा सावधानी अपनाउनु आवश्यक छ र हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त गर्न निरन्तर प्रयास आवश्यक रहनेछ। साझेदारीका काममा विशेष सतर्कता अपनाउनु पर्नेछ।
पारिवारिक जीवनमा सहयोग र समर्थन प्राप्त हुनेछ। प्रेम सम्बन्धमा मिठास र आत्मीयता बढ्नेछ। सामाजिक जीवन सक्रिय रहनेछ र नयाँ सम्बन्ध विस्तार हुने सम्भावना छ। सन्तानको पढाइ वा भविष्यलाई लिएर केही चिन्ता हुन सक्छ, तर समयसँगै सुधार आउनेछ। आध्यात्मिक झुकाव पनि बढ्नेछ।
स्वास्थ्यतर्फ विशेष ध्यान दिनु आवश्यक छ। मांसपेशी दुखाइ वा थकानको समस्या देखिन सक्छ। मानसिक तनावबाट बच्न ध्यान, योग र पर्याप्त आराम गर्नु राम्रो हुनेछ। पानी पर्याप्त मात्रामा पिउनु लाभदायक हुनेछ। अनावश्यक खर्च नियन्त्रण गर्नुहोस् र विवादबाट टाढा रहनुहोस्।
उपाय- शान्त मनले ध्यान गर्नुहोस् र नियमित रूपमा “ॐ नमः शिवाय” वा विष्णु मन्त्रको जप गर्नु शुभ हुनेछ।































प्रतिक्रिया