सिन्धुपाल्चोक, ५, पुस
मध्याह्न १२ बजे, स्थानीय ढाँडेबजार छोडेर धुले सडक हुँदै झन्डै डेढ घन्टा सवारीयात्राद्वारा हिमाली बस्ती सिरानगाउँ पुग्दा गाउँले हरु भोजभतेरमा व्यस्त थिए। त्यहाँ घरका कोही नछुटी सबै गाउँले भेला भएका रहेछन् । राँगा, कुखुराको परिकार सहितका भोजन खाइरहँदा सुरु भएको नाचगानले बस्ती गुञ्जायमान बन्यो। आपसमा अबिर टीका र खादा पहिर्याएर उनीहरूले एकसाथ एकता, सद्भाव र खुसी साटासाट गरे।
न बिहे, व्रतबन्ध, न चाडपर्व, तैपनि तामाङ समुदाय बाहुल्य यो गाउँ दिनभर सामूहिक भोजन र नाचगानमा झुम्यो। गाउँलेले खुसीयाली मनाउनुको खास कारण रहेछ, स्थानीय सक्रियतामा भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्नु । ‘हो हामीले गाउँ ठड्यायौं,’ मासु परिकार लुछ्दै ७० वर्षीया माया तामाङले भनिन्, ‘मेरा तीनभाइ छोराले घर बनाए । अरू सबै छरछिमेकीले समेत आफ्ना घर बनाई भ्याए।’ भूकम्पले ढलेका साबिक बराम्ची–५ र ६ का सबै घर एकसाथ पुनर्निर्माण भएको अवसरमा भोज आयोजना गरेर गाउँलेले खुसी साटेका हुन्। स्थानीय सिंहलाल तामाङले साबिक दुइटा वडामा व्यक्तिगत आवास पुनर्निर्माण सम्पन्न भएको बताए।
उनका अनुसार यहाँ १४२ घर बनेका छन् । भूकम्पले तत्कालीन वडा नं. ५ मा ७५ र ६ मा ६७ घर ढालेको थियो । ‘अघिकांश गाउँले नयाँ घरमा छिरिसके,’ उनले भने, ‘केही घरमा मात्र रंगरोगनको काम भइरहेको छ।’ एक वर्षअघि गाउँलेले आलोपालोमा घर बनाउने अभियान थालेका थिए। भूकम्पप्रतिरोधी घरहरू साना भए पनि आकर्षक छन् । नीलो, रातो जस्तापाताको छानो छाइएका घरहरूमा रंगरोगनले चिटिक्क पार्दा गाउँ नै रंगीन बनेको छ। प्रविधि अपनाई भत्केका घरका ढुंगामाटो, काठपात र स्थानीय सामग्री प्रयोग गरेर बनाइएका अधिकांश घरहरू सस्तोमै निर्माण भएका छन् । इँटा र सिमेन्ट जोडाइएका घरको लागत भने केही बढी रहेको स्थानीय बताउँछन्।
नागरिकबाट





























प्रतिक्रिया