काठमाडौं । चर्चित नेपाली सेफ तथा बिबिसी मास्टरसेफका पूर्व प्रतिस्पर्धी सन्तोष साह आफ्नो पक्राउ प्रकरणबारे स्पष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा भावुक बनेका छन्। उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो विषयमा आएका कतिपय समाचार तथा टिप्पणीहरू तथ्यहीन र भ्रमपूर्ण रहेको दाबी गरेका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा साहले जिल्ला अदालत काठमाडौंले ४ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने फैसला गरेपछि त्यसविरुद्ध उच्च अदालत जाने तयारी भइरहेको र कानुनी हदम्याद बाँकी रहँदै आफूलाई पक्राउ गरिएको बताए। उनले एक महिनाअघि पक्राउ पुर्जी जारी भए पनि आफू स्वयं भद्रकालीस्थित प्रहरी परिसर पुगेका बेला पक्राउ नगरिएको तर पछि जनकपुरबाट पक्राउ गरिएको विषयमा प्रश्न उठाए।
साहका अनुसार मिथिला थाली र आर्जव होल्डिङ्सबीच सिला रेष्टुरेन्ट खरिदका लागि २ करोड २५ लाख रुपैयाँको सम्झौता भएको थियो। उक्त प्रक्रियामा आर्जव होल्डिङ्सको तर्फबाट बाँकी रहेको ४० लाख रुपैयाँ घरभाडा तथा २ लाख ७७ हजार ९९७ रुपैयाँ विद्युत् महसुलसमेत मिथिला थालीले सम्बन्धित पक्षलाई भुक्तानी गरेर सहजीकरण गरेको उनले बताए।
उनले सञ्चारमाध्यममा चर्चामा आएको २ करोड २५ लाख रुपैयाँको विवाद भ्रामक भएको दाबी गर्दै आफूलाई पक्राउ गरिएको विषय केवल ४ लाख ५० हजार रुपैयाँको चेकसँग सम्बन्धित रहेको स्पष्ट पारे।
यस्तै, पछिल्लो समय चर्चामा आएको २५ लाख रुपैयाँभन्दा बढीको भुक्तानी विवादबारे पनि उनले स्पष्टीकरण दिएका छन्। साहका अनुसार आर्जव होल्डिङ्सलाई नबिल बैंकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमार्फत ६ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी कुल २८ लाख २५ हजार रुपैयाँ बैंकिङ प्रणालीमार्फत भुक्तानी गरिसकिएको छ ।
साहले आफूविरुद्ध फैलाइएका गलत सूचनाले आफ्नो प्रतिष्ठामाथि असर पुगेको भन्दै कानुनी प्रक्रियामार्फत सत्य बाहिर आउने विश्वास व्यक्त गरेका छन्।





























प्रतिक्रिया