हुम्लामा एक महिनादेखि टेलिफोन अवरुद्ध

हुम्लामा एक महिनादेखि टेलिफोन अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छाडेको छ । दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड गाउँपालिकासहित छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकामा समेत टेलिफोनले काम गर्न छाडेको छ ।

नेपाल टेलिकमले हुम्लाका सातै गाउँपालिकामा आफ्नो सेवा विस्तार गरे पनि भौगोलिक विकटताले टेलिकमको टेलिफोन सेवा प्रभावकारी नभएको यहाँका स्थानीयवासीको गुनासो छ । ताँजाकोट गाउँपालिकाको चिहिमा रहेको टावरले कुनै काम नगरेपछि नागरिक सञ्चार सेवाबाट वञ्चित छन् ।

अदानचुली गाउँपालिकाका श्रीनगर र कालिकामा रहेका दुवै टावर गत असोज २० गतेदेखि सञ्चालनमा आउन सकेका छैनन् भने चंखेली गाउँपालिकाको मेल्छाममा भएको टावरले कुनै काम गरेको छैन । लकडाउनका समयमा आवतजावतका लागि सिफारिसलगायत आवश्यक कागजात मिलाएर मात्र आउनुपर्ने भएकाले बीचबाटामा सयौँ मानिसले कुर्नुपरेको छ ।

बडादशैंका मुखैमा एक महिनादेखि पूर्णरुपमा टेलिफोन नभएपछि सवारी सीमा पास, आपत्कालीन खाद्यान्न ढुवानी पास, आफन्तजनसँग कुराकानीलगायत काम गर्न धेरै दिन कुर्नुपर्ने बाध्यता भएको छ ।

अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले आफूले पटकपटक टेलिकम केन्द्रीय कार्यालयमा गएर मर्मतका लागि ताकेता गरेको र धेरै पटक पत्र पठाए पनि मुगु जिल्लाको सोरुकोटमा ठूलो क्षमताको टावर राख्न लागेकाले सानातिना टावरमा नलाग्ने भनी जवाफ दिएको बताए । सो टावर राख्ने भनिएको तीन वर्ष पूरा हुन लागे पनि यहाँको समस्या उस्तै छ ।

फडेराले भने, “एक महिनादेखि घरमा पनि काम गरेको थिएन, आफ्नो कार्यकक्षमा पनि फोनले काम नगरेपछि हरेक दिन फोन गर्नकै लागि भए पनि अग्लो ठाउँमा सादा वा सामान्य मोबाइल लिएर जानुपथ्र्यो, अहिले त वल्र्डलिंकको इन्टरनेट म्यासेन्जरबाहेक अन्य विकल्प छैन ।”

यस्तै मुगु जिल्लाका सोरुस्थित भिई र सोरुकोटमा रहेका दुई वटै टावर पूर्णरुपमा अवरुद्ध हुँदा सोरु गाउँपालिकाबासी टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

Logo