भागरथी भट्टको हत्याका अभियुक्त पक्राऊ परेका छन् । उनलाई पक्राऊ गरेको पुष्टि प्रहरीले गरेको छ ।
भागरथीको हत्या उनकै छिमेकी युवाले गरेको पत्ता लागेपछि उनलाई पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नारायण प्रसाद अधिकारीले केन्द्रबिन्दुलाई बताए । उनका अनुसार ती युवकले भागरथीलाई भीरमा लडाएर बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन् । उनलाई प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गर्दैछ । उनले भने ‘हामीले सबै प्रकृया पूरा गरीसकेकाे छौं । सफल पनि भएका छौं । अब केही क्षणमा सार्वजनिक गर्दैछौं ।’
भागरथीको परिवारसँग ती युवकको परिवारको सम्बन्ध बिग्रेको थियो । त्यसपछि उनीहरु गाउँबाट एक किलोमिटर पर गएर बस्दै आएका थिए ।
प्रहरीले भागरथीको परिवारको सम्बन्ध राम्रो नभएकाहरु देखि नजिकका सहपाठीहरुबारे बुझ्दै जाने क्रममा ती युवकको पहिचान गरेको थियो । तर, पक्राऊ भने गरिहालेको थिएन । युवक निगरानीमा थिए । अन्तमा उनी शंकास्पद रहेको पत्ता लागेपछि पक्राऊ गरिएको थियो ।
प्रहरीले सबै प्रमाण जुटाएपछि मात्र युवक नै हत्याका अभियुक्त भएको निष्कर्षमा पुगेको थियो । डिएनए टेष्टलगायत प्रक्रिया समेत बढाएपछि मात्र प्रहरीले भागरथी भट्टको हत्याका अभियुक्तबारे खुलासा गरेको हो ।
२१ माघमा १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि प्रहरीले गरिसकेको थियो । ।





























प्रतिक्रिया