घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित


महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी निरीक्षक सहित १८ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
 
सम्मानित हुनेमध्ये छ जनालाई नगदसहित वृद्धि विकासमा समेत सहयोग हुने गरी अभिलेखमा जनाइने गरी पुरस्कृत गरिएको हो । यसरी पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार शम्भु विश्वकर्मा, प्रहरी जवानहरु अनिल महर, महेशराज पनेरु, रमेश सिंह बडाल, बिन्दा थापा र राम आवतार राम रहेका छन् ।

“नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ्ग एव निर्देशन दिँदै आएका छौं, फलस्वरुप घुष दिन खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरी कारबाही गरेका छौं”, महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले भने ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने गरेको उनको भनाई छ । प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको उनले बताए । 
चालु आवमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवं प्रशंसा पत्रद्वारा सम्मानित गरेको छ ।

यस कार्यले अन्य प्रहरीहरूमा समेत आर्थिक पारदर्शीता एवं शून्य सहनशीलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई कारबाहीको दायरामा ल्याउन थप सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाको छ ।

Logo