म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र सतुवाका बिरुवा र फल बिक्री गरेर सो आम्दानी गर्न सफल भएका छन् ।
जिल्लामा नमूना टिमुर कृषकको रुपमा चिनिएका उनले दुई टनेलमा ४० हजार टिमुरको बिरुवा बिक्रीका लागि तयारी अवस्थामा राखेका छन् । त्यसैगरी घरमै नर्सरी स्थापना गरेर आयुर्वेदिक औषधिका लागि प्रयोग गरिने बहुमूल्य जडीबुटी सतुवाका बिरुवा पनि उत्पादन गरेका छन् । उनले टिमुरका बिरुवा, फल र सतुवाका बिरुवा बेचेर वार्षिक २० लाखभन्दा बढी आम्दानी हुने जानकारी दिए । सतुवाका बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउनेको घुइँचो लाग्न थालेको उनले बताए ।
कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीलाई प्राथमिकतामा राखेर तीन रोपनी जमिनमा बिरुवासमेत लगाएकाे बताएका छन् । उनले पहिलो वर्ष ग्रीन हाउस निर्माण, जग्गाको माटो परीक्षण गरी बाहिरी जिल्लाबाट सतुवा ल्याएर लगाएका थिए ।
“इन्टरनेटको प्रयोग गरी धेरै ज्ञान सिके, सीप भए सतुवाबाट राम्रो कमाइ हुने रहेछ”,कृषक बानियाँले भने । उनले समूहमा आउनेलाई ३५ र व्यक्तिगतरुपमा आउनेलाई प्रतिबिरुवा ५० का दरले सतुवाका बिरुवा बिक्री गरेको जानकारी दिए । अनुकूल हावापानी हुने र बाँझो जमिनमा सतुवा खेती गर्ने गरिएको छ ।
गत वर्ष करिब १५ लाख बराबरको सतुवा र टिमुरका बिरुवा बिक्री गरेका उनले यस वर्ष त्योभन्दा बढी आम्दानी हुने आशा गरेको बताए । “राम्रो आम्दानी हुने टिमुरसँगै सतुवा खेतीतर्फ लागेको छु, यस वर्ष रसुवाबाट अर्डर आएको छ”, उनले भने ।
निजी र सामुदायिक संस्थामार्फत सतुवा खेतीका लागि बिरुवा माग्ने गरेको उनको भनाइ छ । समुद्री सतहदेखि एक हजार ५०० मिटरमाथि उचाइसम्म सतुवा खेतीका लागि उपयुक्त हुने भएकाले तोरीपानी आसपासका क्षेत्र सतुवाका लागि उपयुक्त हावापानी, माटो भएकाले सोचेजस्तो आम्दानी भएको उनको भनाइ छ । रासस





























प्रतिक्रिया