नारी दिवसको अवसरमा प्रदेश २ सरकारद्वारा १५ सय छात्रालाई साइकल प्रदान

नारी दिवसको अवसरमा प्रदेश २ सरकारद्वारा १५ सय छात्रालाई साइकल प्रदान

केन्द्रबिन्दु
0
Shares

१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार आयोजना गरेको एक समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाको २७ विद्यालयका १ हजार ५२० छात्राहरुलाई साइकल वितरण गरे ।

साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताए। यसका लागि प्रदेश भरि रहेका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने तयारी रहेको उनले बताए ।

साइकलले महिला सशक्त हुँदैन, उनले भने –तर, समाजिक रुपान्तरणको लागि सहयोगी हुन्छ । साइकलले समाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्दै मुख्यमन्त्री राउतले यसलाई रुपान्तरणको पहिलो खुड्किलोका रुपमा लिनुपर्ने बताए।

शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि रहेको महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनले दोहोर्याए । प्रदेशका छोरीहरुलाई शिक्षित सब्बल बनाउन बेटी पढाउ, बेटी बचाउ अभियानलाई अगाडि बढाएको उनले जानकारी दिए। महिला हिंसा, दाइजो प्रथा, वालविवाह जस्ता कुरीतिविरुद्धको कानूनलाई सशक्तरुपमा पालना गरेर अघि बढनु पर्ने धारणा उनको थियो ।

एसिड आक्रमण गर्ने, बलात्कारको घटनाका दोषी विरुद्ध कठोर कानूनको खाँचो मुख्यमन्त्री राउतले औंल्याए। संशोधन गरेर भएपनि यस्ता जघन्य अपराधलाई सार्वजनिक स्थलमा झुण्ड्याउने कानूनको व्यवस्था हुनुपर्ने उनको तर्क थियो । उक्त कार्यक्रममा एसिड पीडित धनुषाका आरती साहलाई सम्मान समेत गरिएको थियो ।

बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत यस वर्ष पनि कक्षा ८ मा अध्ययनरत २० हजार छात्राहरुलाई साइकल वितरण गर्न लागिएको हो ।

यसअघि २०७५/०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्राहरुलाई सो अभियान अन्तर्गत साइकल वितरण गरिएको थियो ।

उपसभामुख उपमा देवको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा,  भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, जसपा नेपालका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, सरस्वती चौधरी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Logo