दशैं पहिले र अहिले : ९३ वर्षिया हजुरआमाको दशैं अनुभव

दशैं पहिले र अहिले : ९३ वर्षिया हजुरआमाको दशैं अनुभव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

यतिबेला दशैंले नेपालीहरुलाई छोपि सकेको छ । कोरोना संक्रमणको त्राससँगै आएको दशैंले यसपटक विगत जस्तो रौनक भने ल्याउन नसक्ने पक्का छ । तैपनि वर्षदिनमा आउने पर्व जे सकिन्छ मनाउने सुरसारमा छन् आम नागरिकहरु ।

पछिल्ला केही वर्ष यता नेपाली चाडपर्वहरुमा मौलिकता हराउँदै गएको छ । विकृति र विसंगतिले हाम्रा चाडपर्वहरुलाई पनि जरा गाडेको छ । समाजमा अहिले पनि यस्ता नागरिकहरु छन् , जसले ९ दशक भन्दा वढी समयका दशैंहरु भोगिसकेका छन् । यसपटक हामीले ती पात्र खोजेका छौं जसले त्यतिबेलाको दशैं र अहिलेको दशैंलाई कसरी लिएका छन् त ? यस मध्ये एक हुनुहुन्छ, काभ्रेको मण्डनदेउपुर १० की ९३ वर्षिया डम्बरकुमारी नेपाल । उहाँलाई अहिलेको दशैंको परिवेश देख्दा अचम्म लागेको छ ।

उहाँ भन्नुहुन्छ , ‘वि.सं. १९९० सालको भूकम्प जाँदा ६ वर्षको थिएँ । मैले त्यतिबेलाकै दशैं त सम्झिन सकिन तर पनि गाउँमा दशैं आउँदा १ महिना अघिदेखि नै घर सफाइमा जुटिन्थ्यो । रातो माटो र सेतो माटो (कमेरो) लिन विहान सबेरै गाउँबाट घण्टौं टाढा गइन्थ्यो । हप्ता दिनसम्म लगाएर घरमा लिपपोत गरिन्थ्यो । हिजोआज त ढलानका घरहरु छन् । घर लिपपोत गर्ने चलन नै हरायो ।’

उहाँका अनुसार त्यतिबेला ढिकीमा चिउरा कुटिन्थ्यो । धान कुट्न पनि ढिकीकै प्रयोग हुन्थ्यो भने मकै, गहुँ पिस्नका लागि जाँतो र पानीघट्टहरु हुन्थे । घरघरमा ढिकी जाँतो हुनु अनिवार्य जस्तै थियो । मानौं हिजोआज हरेक घरमा टेलिफोन र टेलिभिजन हुनु जति अनिवार्य छ । तर हिजोआज उल्लेखित कुनै पनि पुराना सामानहरु छैनन् । प्रकृतिबाट डाइनोसर लोप भए जस्तै गाउँबाट ढिकी, जाँतो, पानीघट्टहरु एकाएक हराए । विस्थापित भएका यीनीहरुको ठाउँमा अहिले आधुनिक मेशिनहरु स्थापित भएका छन् । पुरानो प्रविधीको प्रयोग झण्जटिलो भएकाले मानिसहरु अहिले नयाँ प्रविधिमा रम्न थालेको नेपालले बताउनुभयो ।

“ढिकीहरुमा धान कुट्न र चिउरा कुट्न महिना दिन अघिदेखि नै भिड लाग्थे । नयाँ लुगा लगाउन, मासु चिउरा खान पनि दशैं नै कुर्नु पथ्र्यो । गाउँबाट कोही कोही जागिरेहरु शहर गएर आयो भने निकै चर्चा चल्थ्यो । गाउँहरुका केही खास घरहरुमा जुवातास खेल्नेहरुको जमात निकै जम्थ्यो । दशैं तिहारमा जाँतेपिङ्ग, लिङ्गेपिङ्ग, रोटेपिङ्ग टोलै पिच्छे हालिएका हुन्थे । केटाकेटीहरु विहानदेखि बेलुकासम्म पिङ्गहरुमा झुम्मिएका हुन्थे र पो दशैं आए जस्तो लाग्थ्यो ।” उहाँले पुराना अनुभव सुनाउनु भयो ।

उहाँका अनुसार हिजोआजका दशैंमा त कुनै परम्परा नै झल्किंदैन । मानिसहरु आफ्नै पाराका छन् । को कहाँ जान्छ, कहाँबाट आउँछ केही मेसो हुँदैन । हिजोआज त सधैं दशैं, सधैं तिहार । समयले पनि कहाँ पुर्यायो । अब ती दिनहरु एकादेशका कथा जस्ता लाग्छन् । आफू बुहारी हुँदाका दिनहरु डम्बरकुमारीका मानसपटलमा अझै पनि झलझलि याद आउँछन् । गाउँमा मुखियाले भनेका कुराहरु काट्ने आँट कसैलाई पनि हुँदैनथ्यो । तर हिजोआज पुरै फेरिएको परिवेश छ । कसैले कसैलाई टेर्दैनन् । सबै आफ्नै संसारमा रमाएका छन् ।

यसवर्षको कोरोना प्रभावले उहाँका लागि दशैं दशैं जस्तो छैन । देशविदेशमा भएका नाती नातिनाहरुले फोन गर्छन् । आउन नपाइने भयो भन्छन् । साह्रै नरमाइलो लाग्छ, उहाँलाई ।

यसवर्षको कोरोना प्रभावले उहाँका लागि दशैं दशैं जस्तो छैन । देशविदेशमा भएका नाती नातिनाहरुले फोन गर्छन् । आउन नपाइने भयो भन्छन् । साह्रै नरमाइलो लाग्छ, उहाँलाई । यस्तो अप्ठ्यारो त अहिलेसम्म आएको थिएन । कति भूकम्प गए, विफरको महामारी आयो , औलोले गाउँ नै सखाप पार्ने समय आयो तैपनि चाडपर्वहरु रमाइला थिए । तर अहिले त मान्छेले मान्छेलाई देख्दा पनि डराउनु पर्ने अवस्था आएको छ । बुढेसकालको यो उमेरमा पनि स्वास्थ्य चुनौतीसँग जुध्नु पर्दा सबैलाई जस्तो डम्बरकुमारीलाई पनि डर लागेको छ । तर पनि नडराई, सर्तक भएर दशैं मनाउन उहाँले सल्लाह दिनु भएको छ ।

दशैं मनाउनु हाम्रो संस्कृति जोगाउनु हो । दशैंकै नाममा विकृति फैलाउनु हुँदैन । तर पर्व मनाउने भनेको आफ्नो गच्छे अनुसार हो, अरुको देखेर त्यसको पछि लाग्नु हुँदैन भन्ने सल्लाह पनि उहाँको छ ।

Skip This
Skip This
Logo