महाशिवरात्रिमा यसरी हुँदैछ पशुपति वरिपरिकाे ट्राफिक व्यवस्थापन

महाशिवरात्रिमा यसरी हुँदैछ पशुपति वरिपरिकाे ट्राफिक व्यवस्थापन

केन्द्रबिन्दु
0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाएको छ ।

पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गर्दै सहज आवतजावतको प्रवन्ध मिलाएको छ भने विभिन्न नाका भई भित्रिने भक्तजनहरुको लागि छुट्टाछुट्टै स्थानमा पार्किङको प्रवन्धसमेत मिलाएको महाशाखाले जनाएको छ । धेरै टाढाबाट भक्तजनहरु आउने हुँदा उनीहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको व्यवस्था मिलाइनुका साथै पार्किङ गर्ने स्थानहरु समेत तोकिएको छ ।

नियमित जस्तै चावहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ । तर भक्तजनको भिडभाड अत्याधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने समेत उनले जानकारी दिए ।

मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने , सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

दर्शनार्थी एवं भक्तजनहरुका सवारी साधनहरुलाई वनकाली खुल्ला चौर, सिफलचौर, गुह्हेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङ्गको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र वनकाली भित्र राखिनेछ ।
बागमती कोरिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थल तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई संचालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।

चाबहिल, गौशाला, तिलगंगा हुदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo