सर्लाहीमा जनगणनाको लागि कार्यालय स्थापना

सर्लाहीमा जनगणनाको लागि कार्यालय स्थापना

केन्द्रबिन्दु
0
Shares

सर्लाहीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम मलंगवामा कार्यालय सञ्चालनमा ल्याइएको जिल्ला जनगणना अधिकारी राजु पोखरेलले बताए ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा बसेको जिल्ला जनगणना समन्वय समितिको बैठकले वि.सं. २०७८ मा हुने जनगणनाका लागि सदरमुकाम मलंगवामा जिल्ला जनगणना कार्यालय र अन्य ६ स्थानमा स्थानीय जनगणना कार्यालय खोल्ने निर्णय गरेको केन्द्रीय तथ्याङ्क विभागबाट सर्लाही जिल्लाका लागि खटिएको पोखरेलले बताए ।

जिल्लास्तरीय कार्यालय स्थापना गरी वि.सं. २०७८ को जिल्लाको जनगणना कार्यको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । यस्तै, आगामी वैशाख १ गतेबाट सञ्चालन हुने गरी लालबन्दी, मलंगवा, कविलासी, गोडैता, ईश्वरपुर र बरहथवा नगरपालिकामा स्थानीय जनगणना कार्यालय खोलिने पोखरेलले जानकारी दिए । 

उनका अनुसार कार्यालयसँग सीमित बजेट र कर्मचारी भएकाले जिल्लाका स्थानीय तहसँग समन्वय गरी जनगणना कार्य अघि बढाइने बताइएको छ । जनगणनाका लागि सुपरीवेक्षक र गणक करारमा नियुक्ति गर्न सरकारले चैत ११ गतेसम्मका लागि अनलाइन विज्ञापन गरिएको कार्यालयले जनाएको छ । 

केही दिन कार्यालयको व्यवस्थापन, स्थानीय तह तथा जनगणना समन्वय समितिको पदाधिकारी रहेका जिल्लास्थित विभिन्न कार्यालयलाई पत्राचार गर्ने कार्यमै ब्यस्त हुने पोखरेलले बताए । नेपालमा हरेक १० वर्षको अन्तरालमा राष्ट्रिय जनगणना हुने गरेको छ । सोहीअनुसार वि.सं. २०७८ मा हुने जनगणनाअन्तर्गत सुपरीवेक्षकले वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्ने र गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर जनगणनाको कार्य गर्ने कार्यालयले जनाएको छ । रासस

Logo