वैशाखमा हुँदै ‘तनहुँसुर पर्यटन तथा वातावरण मेला’

वैशाखमा हुँदै ‘तनहुँसुर पर्यटन तथा वातावरण मेला’

केन्द्रबिन्दु
0
Shares

पुरातात्विक सम्पदालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसहित नयाँ वर्षको अवसरमा व्यास–११ स्थित तनहुँसुरमा पर्यटन सम्पदा तथा वातावरण मेला गरिने भएको छ । तनहुँसुर क्षेत्रलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक विविेधतायुक्त पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै स्थानीय समुदायलाई प्रोत्साहन गर्न आगामी वैशाख ५ देखि ७ गतेसम्म पर्यटन तथा वातावरण मेला हुन लागेको हो । 

तनहुँसुर देवस्थल सामुदायिक होमस्टे र तनहुँसुर सामुदायिक होमस्टेको आयोजना तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिको सहआयोजनामा मेला गर्न लागिएको आइतबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

तनहुँसुर दरबार परिसरअन्तर्गतका पुरातात्विक सम्पदाका साथै वातावरण संरक्षण एवं प्रवर्द्धनका लागि जनचेतना अभिवृद्धि गर्न, हाल सञ्चालनमा रहेका र सञ्चालन उन्मुख घरबासको प्रवर्द्धन गरी आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा उल्लेख्य वृद्धि गर्दै स्थानीय समुदायको समृद्धिका लागि टेवा पुर्याउने मेलाको मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका अध्यक्ष एवं वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिए । 

मेलामा स्वदेशी तथा विदेशी पर्यटक, उद्योग, व्यवसायी, कृषक, पत्रकार, साहित्यकार, विद्यार्थी एवं शिक्षक तथा खोजकर्ताका साथै विभिन्न पेशामा आवद्ध व्यक्ति गरी ५० हजारले अवलोकन गर्ने अनुमान रहेको सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए । रासस

Logo