बेपत्ता ७ किशोरीहरुको खोजी जारी, अपहरणको आशङ्का

बेपत्ता ७ किशोरीहरुको खोजी जारी, अपहरणको आशङ्का

केन्द्रबिन्दु
0
Shares

महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ । मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो । 

धर्मपुरको दलित बस्तीका घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन छन् ।

सम्पर्कविहीन सातै जनाको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले गरिरहेका छन् । अहिलेसम्म कुनै सुराकी पाउन नसकिएकाले उनीहरू ललाइफकाइमा परेर अपहरणकारीको कब्जामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । सम्पर्कविहीनको खोजीमा ठाउँ–ठाउँमा प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

सम्पर्कविहीन भएका सातैजना हाँसीखुशी घाँस काट्न मङ्गलबार दिउँसो १ बजेतिर घरबाट समूहमै निस्केका अभिभावकको भनाइ छ । “सबै हाँस्दै निस्केका थिए, साँझ घर नफर्केपछि चिन्ता बढ्यो”, अस्मिताका पिता बद्री पासवानले भने, “घरमा कुनै भनाभन वा रिसाउने केही भएको थिएन ।”

सम्पर्कविहीन भएका सातमध्ये सिरहाको कर्जन्हा घर भई मावल आएकी रञ्जनाबाहेक सबै धर्मपुरवासी हुन् । तीमध्ये नगिना, कृष्णा पासवान, सीमा, देवनन्दन पासवान, ज्योति, बिसुन पासवान, रिया, ज्ञानकुमार पासवान र रचना, अरविन्द पासवानका छोरी भएको खुलेको छ । सात छोरीचेली समूहमा एकैपटक हराएपछि धर्मपुरको दलित बस्तीमा रुवावासी मच्चिएको छ ।

हराइरहेकामध्ये अस्मिताले यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुन आवेदन गरेकी पिता बद्रीको भनाइ छ । “घरको गरिबी छोरीले बुझेकी थिई, जागिर गरेर पाल्छु भन्थी”, बद्रीले गहभरि आँसु पार्दै भने, “त्यही छोरी हराउँदा अब मन राख्ने ठाउँ नै देखिन्न ।” धर्मपुरको दलित बस्तीका अभिभावक आफ्ना छोरीचेलीको खोजी गरिदिन अहिले सान्त्वना दिन पुग्ने सबैसँग हात जोडेर अनुनयविनय गरिरहेका देखिन्छन् ।

Skip This
Skip This
Logo