कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान सुरू

कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान सुरू

केन्द्रबिन्दु
0
Shares

दोस्रो चरणमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान आजदेखि पुरानो बसपार्कबाट थालेको छ।

“ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना” भन्ने मूल नाराका साथ उक्त अभियान थालनी गरिएको हो। उक्त कार्यक्रममा बोल्दै ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोभिड १९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान आजदेखि सुरूवात गरिएको बताए। उनले कोभिड १९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकाले बेलैमा सुरक्षाका सावधानी अपनाएर मात्र चलायमान गराउनुपर्ने उनले जोड दिए। 

सो कार्यक्रममा उपस्थित यातायात व्यवसायीहरू, मजदुर संघ, युनियनका पदाधिकारीहरू, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानहरूद्वारा सवारी साधनहरूमा यात्रुले देखिने गरी सवारीको ढोका नजिक स्टिकर टाँस गर्नुका साथै पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्कसमेत वितरण गरिएको थियो।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्ने सम्बन्धमा आआफ्नो विचार राखेका थिए। आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम गर्न ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न तत्पर रहेको उनीहरूले उल्लेख गरे।

सम्पूर्ण चालक सहचालक तथा यात्रुहरूले अनिवार्यरूपमा मास्क लगाई भौतिक दुरी कायम गरी सवारी साधनको प्रयोग गर्नु पनि महाशाखाले विशेष अनुरोध गरेको छ। “सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौँ” लेखिएको स्टिकर उपत्यकामा चल्ने सम्पूर्ण माइक्रो तथा बसहरूमा टाँस गरिने महाशाखाले जनाएको छ।

कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउन महाशाखाले विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ।

Skip This
Skip This
Logo