आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ।
वर्षको पहिलो दिन धेरै मानिसले मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाइने प्राचीन परम्परा छ। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन्।
सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानको भनाइ छ। सौरमान र चन्द्रमानको समन्वय पनि विक्रम संवतमा भएको छ। कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो। हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरेका छन्। आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गती तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गरी नयाँ वर्ष मनाइएको छ।
विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्। साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउनेको लर्को सडकमा देखिन्थ्यो। मठमन्दिर, उद्यान, स्मारकजस्ता स्थलमा सामूहिक वनभोज गरी नयाँ वर्ष मनाएको दृश्य पनि देखिन्थ्यो। कोरोनाको जोखिम कायमै रहे पनि मानिस वास्ता नगरी नयाँ वर्ष मनाउन लालायित भएझैँ लाग्थ्यो। कोरोना जोखिमका कारण गत वर्ष चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएको विसं २०७७ यसरी खुलारुपमा मनाउन नपाएकाले हुनसक्छ आज मानिसको चहलपहल धेरै देखिन्थ्यो।रासस































प्रतिक्रिया