नयाँ भेरियन्टको कोरोना संक्रमण बालबालिकाहरुमा किन छिटो बढ्यो ?

नयाँ भेरियन्टको कोरोना संक्रमण बालबालिकाहरुमा किन छिटो बढ्यो ?


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको पहिलो लहर केही मत्थर भइरहेको अवस्थामा विश्व पुनः दोस्रो लहरको ठूलो चपेटामा परेको छ। हाल विश्वमा तीन प्रकारका नयाँ भेरिएन्टका कोरोना विशेष चर्चामा रहेका छन् । जसलाई युके, ब्राजिलियन तथा दक्षिण अफ्रिकी भेरिएन्टका नामले चिनिएको छ । 

नेपालमा दोस्रो लहरको कोरोना प्रारम्भिक चरणमै छ तर बिडम्बना प्रारम्भिक चरणमा हुँदाहुँदै बिरामीहरु अस्पताल भर्ना हुने क्रम तिब्र गतिमा रहेको छ । पछिल्लो दुई हप्तादेखि संक्रमितहरुको संख्या तिब्र रुपमा बढिरहेको छ । प्रारम्भिक चरणमै अस्पतालका बेडहरु भरीभराउ हुन थालिसकेका छन् । 

पहिलो लहरमा जेष्ठ नागरिक र दीर्घरोगीहरुलाई अलिक बढी खतरा हुने तर बालबालिकाहरुमा त्यति खतरा छैन भन्दै गर्दा अहिलेको अवस्थामा धमाधम बालबालिकाहरु पनि संक्रमित भइरहेका छन् । पहिलो लहरमा उमेर हदलाई तोकेर संक्रमितहरुलाई जोखिममा राखिन्थ्यो भने अब सबै उमेर समुह जोखिममा रहेका छन् । 

नयाँ भेरियन्टको संक्रमण बालबालिकाहरुमा किन छिटो बढ्यो भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम यसो भन्छन् ‘यसभन्दा पहिलेको कोरोना भाइरसले बालबालिकालाई त्यति नै प्रभाव पार्थ्यो जति अहिले प्रभाव पारिरहेको छ । कारण यसभन्दा अघि लकडाउनका कारण बालबालिकाहरु घरमा थिए, विद्यालयहरु बन्द थिए तर यसपटक संक्रमण तीव्र बनिसक्दा पनि विद्यालय बन्द भएन, जसले गर्दा बालबालिकाहरु बढी संक्रमित भए।’

हुन त १५ दिन अघि नै एक महिनाका लागि स्कुल बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको थियो । मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला सहरमा रहेका शिक्षण संस्थाहरुको भौतिक पठन पाठन बन्द गरी अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो । यस्तै मन्त्रालयले अभिभावकहरुलाई समेत सुसूचित गराएको थियो । तर विद्यालयहरुले वेवास्ता गरी लापरबाहीका साथ विद्यालयहरु सञ्चालन गरेका कारण आज बालबालिकाहरु धेरै संक्रमित हुन पुगेको गौतमको भनाइ छ । विद्यालय नै बालबालिकामा कोरोना फैलिने माध्यम बनेको गौतमले आरोप लगाए ।

दैनिक रुपमा अहिले २ हजारभन्दा बढीको संख्यामा संक्रमित भइरहेका छन् । जसमा १८ देखि २० प्रतिशत बालबालिका रहेको प्रवक्ता  गौतमले बताए । ‘तर भाग्यवश संक्रमण देखिएका बालबालिकामध्ये केही मात्र अस्पताल भर्ना  भएका छन् ।’ उनले भने । 

संक्रमित संख्या ३ लाख नजिक
नेपालमा शुक्रबार २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ११० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। 

यससँगै संक्रमितको कूल संख्या २ लाख ९४ हजार ६०१ जना पुगेको छ भने आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ। 

५ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ। नेपालमा हालसम्म २३ लाख ८८ हजार २०० जनाको पीसीआर परीक्षण गरिएको छ।

Logo