आइतबार मध्यरातबाट लागू हुनेगरि काभ्रेमा एक हप्ता निषेधाज्ञा जारी

आइतबार मध्यरातबाट लागू हुनेगरि काभ्रेमा एक हप्ता निषेधाज्ञा जारी

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले भोलि आइतबार मध्यरातिदेखि लागू हुने गरि निषेधाज्ञा जारी गरेको छ।

कार्यालयले वैशाख १९ मध्यरातदेखि २६ गते मध्यरातसम्म एक हप्ताको लागि निषेधाज्ञा लगाउने घोषणा गरेको हो। आज एक विज्ञप्ति जारी गरि यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ ।

निषेधाज्ञा जारी गरिएको स्थानमा हिड्डुलसमेत गर्न नपाइने तर अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने चलाउन पाइने कार्यालयले जनाएको छ।

अरनिको रागमार्गको साँगा हुँदै बनेपा, धुलिखेल, पाँचखाल र दोलालघाटसम्म सडकको दायाबायाँ ५०० मिटरसम्म सार्वजनिक र निजी सवारीसाधन संचालनमा रोक लगाइएको छ।

बनेपा–तीनदोबाटो–नाला सडक र बनेपा–पनौती–खोपासी सडक खण्डको दायाबायाँ ५०० मिटरसम्म पनि सवारीसाधन चलाउन नपाइने भएको छ।

उता बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसी हुँदै मंगलटार खण्डसम्म भने सडकको दायाबायाँ २०० मिटरसम्म सवारी सञ्चालन गर्नमा रोक लगाए पनि त्यसभित्र कुनै रोकावट गरिएको छैन। 

यस्तै पाँचखालको जिरोकिलोदेखि सिपाघाटसम्मको हेलम्बु राजमार्गको २०० मिटर सम्म सवारी संचालनमा रोक लगाइएको पनि विज्ञप्तिमा जनाइएको छ । 

आज काभ्रेमा ९७ जना नयाँ संक्रमित थपिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । हाल जिल्लामा ३९३ जना सक्रिय संक्रमित रहेका छन् । 

Logo