लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त नगर्न विपक्षीको माग, अल्पमतमा रहेको दाबी

लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त नगर्न विपक्षीको माग, अल्पमतमा रहेको दाबी


लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई विपक्षी दलहरूले मुख्यमन्त्री शंकर पोखरेलेलाई मुख्यमन्त्री पदमा नियुक्त गरेर शपथ ग्रहण नगराउन निवेदन दिएका छन्।

संविधानको धारा १६८ (१) अनुसार पोखरेलको शपथ रोक्न विपक्षी दलका सांसदहरूले आइतबार निवेदनमार्फत माग गरेका हुन्।

लुम्बिनी प्रदेशको कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खानले पोखरेललाई सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने र बहुमत सांसद कांग्रेस–माओवादी–जसपाको गठबन्धनसँग रहेको बताए।

‘बहुमत कहाँ छ? उहाँ (शंकर पोखरेल) ले बहुमत गुमाइसक्नुभयो, माननीय विमला खत्रीले माओवादी केन्द्रमा रहेको भनिएपछि’, प्रमुख सचेतक खानले केन्द्रविन्दुसँग भने, ‘अहिले उहाँसँग ४० जना हुनुहुन्छ, हामीसँग पनि ४० जना हुनुहुन्छ, हाम्रोतिर केही सांसद थपिने अवस्था छ, यसले गर्दा बहुमत परीक्षण हुनुपर्यो नि।’

खानले प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीको रूपमा पोखरेललाई शपथ नगराउने र संविधान अनुसार अघि बढ्ने भनेको बताए।

उनका अनुसार एकघण्टापछि गठबन्धनबाट बहुमत सांसदहरू हस्ताक्षरसहित नयाँ सरकार गठनको दावी गर्दै निवेदन लिएर जाने तयारीमा छन्। त्यसका लागि अहिले गठबन्धनका सांसदहरूको बैठक जारी छ।

सांसद खत्रीले शनिबार माओवादी केन्द्रमा रहेको उल्लेख गरेकी थिइन्। बहुमत पुर्याउन पोखरेलले यसअघि आफ्नो हस्ताक्षरको दुरुपयोग गरेको पनि आरोप लगाएकी छिन्।

खत्रीको माओवादीमा रहेको स्पष्टीकरणसँगै पोखरेलले आइतबार बिहानै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। संसदमा पहिलो दलको हैसियतमा सरकार गठन गर्न उनले राजीनामा दिएको चर्चा छ।

तर, विपक्षी गठबन्धनले भने संसद् अधिवेशनमा अविश्वासको प्रस्तावबारे मतदान भएको अवस्थामा अविश्वासको प्रस्तावमा बहुमत पुग्ने र बहुमत प्राप्त गर्न नसक्ने अवस्था निम्तिएपछि डराएर संसद् नै अन्त्य गराएको आरोप लगाउँदै आएका छन्।

Logo