पछिल्लो अपडेट अनुसार देशका विभिन्न जिल्लाहरुमा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमणबाट मोरङका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौ जनाको मृत्यु भएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ५४ वर्षीया सङ्क्रमित महिलाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालको कोभिड सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको छ। मृतकलाई कोभिड पुष्टि भएपछि वैशाख २४ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका इन्जार्च सुनिल देवले बताए।
धरान उपमहमनगरपालिका–१७ बस्ने ६६ वर्षीय सङ्क्रमित पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। यसैगरी विराटनगर–१ त्रिवेणी चोक बस्ने ७६ वर्षीय सङ्क्रमित पुरुषको उपचारमा सोही अस्पतालमा आज बिहान मृत्यु भएको छ।
यस्तै सिरहाको कल्याणपुर–४ का ३८ वर्षीया सङ्क्रमित महिलाको सोही अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ। मृतकलाई वैशाख २५ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले बताए।
मेची नगरपालिका–६ झापाका ६० वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा शनिबार राति मृत्यु भएको छ। निजलाई उपचारका लागि वैशाख २३ अस्पतालमा भर्ना गरिएको थियो।
यस्तै मोरङको उर्लाबारी नगरपालिका–६ की ३९ वर्षीया सङ्क्रमित महिलाको उपचारका क्रममा सोही अस्पतालमा शनिबार राति मृत्यु भएको छ। सप्तरीको बोदेवरसाइन नगरपालिका–१० बस्ने ३२ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा सोही अस्पतालमा शनिबार बेलुकी मृत्यु भएको छ।
मृतकलाई वैशाख २२ गते उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको प्रबन्धक दाहालले बताए। यस्तै धनुषाका ७७ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको छ। निजलाई यही वैशाख १७ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले जानकारी दिए।
सोही अस्पतालमा सप्तरीका ५३ वर्षीय एक पुरुषको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको छ। मृतकलाई वैशाख २४ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।
बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु
बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ। भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए।
उनका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, बढैयाताल–२ बर्दिया निवासी ६५ वर्षीया महिला, दङ्गिशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष, नेपालगञ्ज–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
यसैगरी लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला कोभिड स्रोतव्यक्ति वलीले जानकारी दिए। योसँगै कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका १८० र जिल्लाबाहिरका १३६ जनाको मृत्यु भएको छ।
तुलसीपुर कारागारका कैदी मृत भेटिए
दाङको तुलसीपुरस्थित कारागारमा रहेका एक कैदी मृत फेला परेका छन्। कारागारका नायब सुब्बा जोखिम ओलीका अनुसार कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सल्यान कपुरकोट गाउँपालिका–३ निवासी ४६ वर्षीय खड्क बुढाथोकी मृत फेला परेका हुन्।
बेलुका खाना खाएर सुतेका उनी आज बिहान हेर्दा मृतावस्थामा रहेको ओलीले बताए। “बेलुका खाना खाएर सुत्नुभएको थियो, त्यसपछि राति एकपटक उठेर शौचालय गएको र त्यतिबेला ड्युटीमा खटिएका व्यक्तिले सोध्दा गर्मी महसुस भएको भन्नुभएको थियो”, ओलीले भने, “बिहान उठ्दा मृत फेला पर्नुभयो ।”
शवलाई कारागारमा राखिएको छ। सल्यानबाट आफन्त आउन लागेको भन्दै उनीहरु आएपछि मात्रै आफन्तलाई देखाएर शवपरीक्षण गर्न लैजाने ओलीले बताए। उनले ०६८ असार ११ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका थिए।रासस





























प्रतिक्रिया