भारत, नेपाललगायत दक्षिण एशियाली मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्टले त्राहिमाम मच्चाइरहेको छ। यसअघिको भाइरसभन्दा बढी नै संक्रामक रहेको नयाँ भेरियन्टले पहिलेजस्तै श्वासप्रश्वासमा समस्या निम्त्याइरहेको छ।
कोरोना संक्रमणको प्रत्यक्ष र परोक्ष असर मानिसको शरीरमा आवश्यक अक्सिजनको मात्रामा पर्ने देखिएको छ। त्यसो त विश्वभरकै संक्रमितको तथ्यांक केलाउँदा ८५ प्रतिशत संक्रमितमा कुनै लक्षण देखिएको पाइँदैन।
बाँकी रहेकामध्ये १० प्रतिशतलाई मात्र लक्षण देखिन्छ। विज्ञ र स्वास्थ्यकर्मीको सरसल्लाहमा उचित खानपान र रहनसहनसहित योग, ध्यान र सामान्य उपचार गर्दा ती व्यक्तिहरु १५ देखि २५ दिनमा संक्रमणमुक्त हुन्छन्। त्यसपछि बाँकी पाँच प्रतिशतलाई मात्रै अस्पताल, अक्सिजन, आइसियु र भेन्टिलेटर चाहिने गर्छ।
एक प्रतिशतभन्दा कम व्यक्तिको मात्रै विभिन्न कारणले मृत्यु हुने गरेको पाइएको छ। तीमध्ये अक्सिजन कमीले मृत्यु हुने गरेको पाइएको छ। बाट कसरी बाँच्ने भन्ने विषयमा चर्चा गरौं।
कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका तथा शरीरमा अक्सिजनको मात्रा कम भएका संक्रमित एकाएक बेहोस भएर ढल्ने गरेका छन्। यसको कारण हो–शरीरमा अक्सिजनको मात्रा एकदमै घट्नु।
त्यसो त हामी शरीरमा अक्सिजनको मात्रा कम छ कि छैन् भनेर अरु बेला खासै परीक्षण गर्ने गर्दैनौं। रोग लागेर अस्पताल वा नजिकैको स्वास्थ्य उपचार केन्द्र जाँदा स्वास्थ्यकर्मीले परीक्षण गर्नेबाहेक हामी आफैं कहिल्यै न अक्सिजनको मात्रा परीक्षण गर्छौं, न ब्लड प्रेसर नै। तर, अक्सिजनको मात्रा परीक्षण गर्न कति आवश्यक छ भन्ने हामीलाई यस महामारीर्ले राम्रोसँग सिकाएको छ।
चिकित्सक भन्छन्–मानव शरीरमा अक्सिजनको तह घट्दै गएको अवस्थामा फोक्सोमा निमोनियाको असर बढ्दै गएको हुन्छ। जतिबेला मानिसले आफ्नो शरीरमा अक्सिजनको मात्रा घटेको महसुस गर्छ, त्यस बेलासम्म जोखिमको मात्रा बढ्दै गएको हुन्छ।
त्यसैले शरीरमा अक्सिजनको मात्रा कम भएको महसुस गर्नुभन्दा पहिले नै त्यसको मात्रा पत्ता लगाउनु जरुरी छ।
चिकित्सकले भनेबमोजिम अक्सिजन त परीक्षण गर्ने तर, अस्पतालसम्म पुग्दा ज्यान नै तल–माथि हुने त होइन भन्ने प्रश्न उठ्न सक्छ। त्यसको पनि निदान छ। हामीले पनि सहजै सञ्चालन गर्न सक्ने अक्सिजन नाप्न सकिने उपकरण वा प्रविधि हो अक्सिमिटर।
अक्सिमिटरले रगतमा रहेको अक्सिजनको मात्रा मापन गर्ने काम गर्छ। यही अक्सिमेटरबाट अक्सिजनको मात्रा परीक्षण गर्ने विधिलाई अक्सिमेटरी विधि भनिन्छ।
स्वास्थ्य क्षेत्रका विज्ञहरु भन्छन्–एक स्वस्थ व्यक्तिमा अक्सिजनको मात्रा ९५ देखि १ सयको बीचमा हुने गर्छ। ९५ प्रतिशतभन्दा कम अक्सिजनले संकेत गर्छ कि व्यक्तिमा कुनै न कुनै समस्या छ। यदि अक्सिजन लेभल ९२ वा ९० सम्म झर्यो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ।
अक्सिमिटरले रगतमा रहेको अक्सिजनको मात्रा मापन गर्ने काम गर्छ। यही अक्सिमेटरबाट अक्सिजनको मात्रा परीक्षण गर्ने विधिलाई अक्सिमेटरी विधि भनिन्छ।
पछिल्लो समय कोरोना भाइरसको महाव्याधिका कारण अक्सिजनको अभावले धेरैको ज्यान गुमेको र जोखिम पनि बढिरहेका बेला सुरुमै अक्सिजनको मात्रा कम हुन नदिन समय–समयमा यसको परीक्षण गरिरहनु उचित हुने विज्ञहरुको ठहर छ।
अक्सिमिटरको सहायताले हृदय र फोक्सोको कार्यलाई कुनै असर परे–नपरेको तथा रगतमा हुने अक्सिजनको अभाव कुन अवस्थामा छ ? भन्ने कुरा जानकारी पाउन सकिन्छ। जसलाई औंलामा राखेर रगतमा रहेको अक्सिजनको मात्रा परीक्षण गर्न सकिन्छ।
यो एक किसिमको फोटो इलेक्ट्रिक उपकरण हो। यो आफैंमा पुनः प्रयोगयोग्य हुन्छ । प्रविधिको विकाससँगै विकसित भएका अक्सिमिटरहरुले मुटुको धड्कनको मात्रा समेत परीक्षण गर्ने गरेको छ।
अब कुरा गरौं यसको मूल्यको
अक्सिमिटर ६ सय रुपयाँसम्ममा स्वास्थ्य उपकरण बिक्री केन्द्रमा सहजै पाउन सकिन्छ। तर, कम्पनीले तयार पारेको यसको मूल्यसूची भने ५ सय ९९ रुपैयाँ छ।
अक्सिजन लेभल भनेको के हो?
हामीले अगाडि पनि चर्चा गरी सक्यौं, रगतमा अक्सिजनको मात्रा प्रतिशतको आधारमा नाप्ने गरिन्छ। शरीरमा रातो रक्त समूहको आधारमा शरीरमा अक्सिजन स्याचुरेसनलाई प्रतिशतमा उल्लेख गरिन्छ। उदाहरणका लागि यदि कुनै पनि व्यक्तिको अक्सिजन लेभल ९६ प्रतिशत छ भने रगतमा अक्सिजनको मात्रा केवल चार प्रतिशतको कमी भएको बुझिन्छ।
अक्सिजनको लेभल कति हुन्छ स्वस्थ मानिसमा ?
विज्ञहरुका अनुसार एक स्वस्थ व्यक्तिमा अक्सिजनको साधारण तह ९५ देखि लिएर एक सयको बीचमा हुने बताउँछन्। ९५ प्रतिशतभन्दा कम अक्सिजनले संकेत गर्छ कि व्यक्तिमा कुनै न कुनै समस्या छ। यदि अक्सिजन लेभल ९२ वा ९० सम्म झर्यो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ। समयमै चिकित्सकीय परार्मश नगरे जे पनि हुनसक्ने चिकित्सक बताउँछन्।
कसरी गर्ने अक्सिजनको लेभल परीक्षण?
अक्सिजनको लेभल परीक्षणका लागि उपयुक्त विधि भनेको अक्सिमिटरको प्रविधि उपयुक्त मानिन्छ। यसको बीचमा औंला राख्दा यसभित्र एक किसिमको बत्ती बल्छ। यसले रक्तकोषको रंग र त्यसको हलचल मापन गर्दछ।
यी सबै जानकारी पाएपछि हामी सबैले अक्सिमिटरको प्रयोग घरमै गरौं र अक्सिजनको मात्रा परीक्षण पनि घरमै बसेर गरौं, अनावश्यक अस्पतालमा भिड नगरौं, जानै परे मात्र अस्पताल जाऔं। कोरोनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं।





























प्रतिक्रिया