संक्रमणदर बढेसँगै खोप अभियान पुनः संचालन गरिने (भिडियोसहित)

संक्रमणदर बढेसँगै खोप अभियान पुनः संचालन गरिने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

सरकारले नेपालमा कोरोनाविरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ। नेपालमा खोप अभियानसमेत केही सातायता अवरुद्ध बनिरहेको छ। तर अब जेठ २ गतेदेखि उक्त अभियान फेरि सञ्चालन गरिने स्वास्थ्य सेवा विभागले तयारी गरेको हो। अब जेठ २ गतेदेखि चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा लगाइने छ। नेपालमा हाल ३ लाख ७० हजारले डबल डोज खोप लगाएपनि एक डोज मात्र खोप लगाएकाहरूको सङ्ख्या २४ लाख ८२ हजार रहेको छ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुनेको ग्राफ पनि बढ्दै गएको छ। पछिल्लो तीन दिन यता यसको ग्राफ निकैमाथि पुगको हो। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार मात्र थप २ सय २५ जनाको मृत्यु भएको छ। यस्तै अक्सिजनको अभावमा राजधानीकै अस्पतालले नयाँ विरामी भर्ना गर्न छाडेका छन्। सरकारले आपूर्तीको संख्या तोके पनि अक्सिजनको अभावको कारण देखाउँदै विभिन्न अस्पतालले मंगलबारबाट नै विरामी भर्ना गर्न नसक्ने जनाएका हुन्।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन्। मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को रोकथाममा अहिले चालिएको कदम पर्याप्त नहुने भएकाले  स्वास्थ्य संकटकाल वा बन्दाबन्दी आवश्यक रहेको बताए। तर यससम्बन्धमा सामूहिक निर्णय चाहिने मन्त्री त्रिपाठीको भनाइ छ। 

नेपाली कांग्रेले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि सबै राजनीतिक दलहरुसँग वार्ता गर्ने भएको छ । राष्ट्रपतिले तीन दिनको समय दिएर सोमबार संविधानको धारा ७६ को उपधारा २ बजोजिम दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार गठन गर्न आह्वान गरेपछि कांग्रेस यसमा जुटेको हो। मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरदेखि एमालेको माधव नेपाल–झलनाथ खनाल समूहसँग समेत वार्ता गर्ने निर्णय गरेको छ। उता, गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले नयाँ सरकार गठनका लागि समर्थन गर्न अस्वीकार गरेसँगै पृथ्वी सुब्बा गुरुङको विकल्प क्षिण बन्दै गएको छ। 

अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन्। कम्पनीहरूले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, इन्डस्ट्रिजमा भएका खाली सिलिण्डर उद्योगमा फिर्ता गरेर सर्वसाधारणको जीवन रक्षाका लागि सहयोग गर्न आव्हान पनि गरेका छन्। यसैबीच नेपाल एअरलाइन्सको जहाजले चीनको बेइजिङबाट आजै ४ सय अक्सिजन सिलिन्डर र भेन्टिलेटर नेपाल ल्याइ पुर्याएको छ। 

नेपालमा कोरोना संक्रमणदर नियन्त्रणमा नआएपछि सरकारले पुनः १५ दिनका लागि निषेधाज्ञा थप गरेको छ। यससँगै निषेधाज्ञाका नियमहरूपनि परिवर्तन भएका छन्। सरकारले १५ जनासम्म भेला भएर होटल तथा पार्टी प्यालेसमा विवाह गर्न पाउने नियम परिवर्तन गरिदिएको छ भने, विकास निमार्णका काम पनि बन्द गर्ने निर्णय गरेको छ। 

Logo