‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मुर्तिलाई आज रथमा राखिएको छ।
हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार आज रथारोहण गरिएको हो। लोकेश्वरसमेत भनिने रातो मछिन्द्रनाथको मुर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा पर्व सुरु भएको मानिन्छ।
नेपालमा मनाइने जात्रा मध्येको लामो जात्रा मानिने मछिन्द्रनाथको जात्रा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि सांकेतिक हुनेछ। काठमाडौँ उपत्यकामा फैलिँदै गइरहेको कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले तोकेको मापदण्ड अपनाउँदै मछिन्द्रनाथको रथ तयार गरिएको छ। मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलन अनुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो।
मछिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो रहेको छ। पञ्चांग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको छलफलपछि रथ तान्ने साइत निकालिन्छ। मूर्तिलाई रथमा राखेको तीन दिनमा सक्खरको सर्वत खुवाएर पुल्चोकमा राखिन्छ। त्यसको भोलिपल्ट पुल्चोकदेखि गाःबहालसम्म रथ तान्ने गरिन्छ। मछिन्द्रनाथको रथ गाःबहालबाट मंगलबजार त्यसपछि सुन्धारा, लगनखेल हुँदै जावलाखेल लैजाने चलन छ।
जावलाखेलमा पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अहिले राष्ट्रपति सहभागी हुने चलन छ।





























प्रतिक्रिया