भारतमा अहिले ‘ब्ल्याक फन्जाइ’ (कालो ढुसी) भनिने म्युकरमाइकोसिसको संक्रमण कोभिड–१९ का बिरामीमा देखिन थालेको छ। कोभिड–१९ बाट मुक्त भएका र संक्रमित रहेका दुवैमा यो रोग देखिएको हो। म्युकरमाइकोसिस नयाँ रोग नभए पनि कोभिड–१९ को लहरसँगै यो रोग पहिलेका वर्षहरूभन्दा बढी संख्यामा देखिएको छ।
कोरोना महामारीको सबैभन्दा बढी प्रभाव देखिएका भारतको दिल्ली, महाराष्ट्र र गुजरातमा कालो ढुसीको संक्रमण बढेसँगै भारतको राष्ट्रिय कोभिड–१९ टास्क फोर्सले त्यस रोगबारे तथ्यगत सुझाव सार्वजनिक गरेको छ।
भारतका लाइभमिन्ट र इन्डियन एक्सप्रेससाथै भारतबाहिरका न्युयोर्क टाइम्स, बीबीसी र द गार्जियनलगायत सञ्चारमाध्यमले भारतमा फस्टाइरहेको यस रोगबारे यसै साता समाचार सम्प्रेषण गरेका छन्।
बीबीसीका अनुसार कालो ढुसीको मृत्युदर ५० प्रतिशत रहेको छ। मुम्बईको सियोन अस्पतालमा कालो ढुसी संक्रमण भएर आउने बिरामीको संख्या वर्षमा ६ को आसपास रहँदै आएकोमा पछिल्लो दुई महिनामा भने २४ पुगिसकेको उक्त अस्पतालकी डाक्टर रेनुका ब्राडुले बताएको बीबीसीले जनाएको छ।
नेपाल सरकार मौन
भारतको राष्ट्रिय कोभिड–१९ टास्क फोर्सले कालो ढुसीबारे जनचेतनाका लागि सुझाव दिएको भए पनि नेपालमा भने त्यस किसिमको जागरूकता देखिँदैन। नेपालमा कोभिड–१९ सम्बन्धी जिम्मेवार मुख्य दुई निकाय कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म यस रोगबारे सर्वसाधारणलाई सचेत बनाउने खालको कदम चालेको देखिँदैन।
के हो कालो ढुसी?
म्युकरमाइसिट नामक एक ढुसी हो, जसलाई आमभाषामा ‘कालो ढुसी’ भनिन्छ। त्यसको संक्रमण भएको अवस्थालाई चाहिँ म्युकरमाइकोसिस भनिन्छ। म्युकरमाइसिट माटो, बोटबिरुवा, कुहिएको फलफूल र तरकारीलगायत ओसिला वस्तुमा पाइन्छ।
यसले विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका र शरीरलाई कमजोर बाउने औषधी सेवन गरिरहेका मानिसलाई असर गर्छ। मधुमेह, एड्स र क्यान्सरका बिरामीलाई यसले असर गर्ने गरेको पाइएको छ।
भारतमा भने कोभिड–१९ संक्रमण भएका मधुमेहका बिरामीमा यो संक्रमण बढी देखिएको लाइभमिन्टले जनाएको छ।
ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, श्वासप्रश्वासमा समस्या आउनु, वान्तामा रगत आउनु र चेतना गुम्नु यसका मुख्य लक्षण रहेको भारतको राष्ट्रिय कोभिड–१९ टास्क फोर्सले जनाएको छ। यसले खासगरी नाक, आँखा र फोक्सोमा असर गर्ने गर्छ।
भारतमा म्युकरमाइकोसिसका कारण मानिसको आँखा झिक्नुपर्नेसम्मको अवस्था आएको सञ्चारमाध्यमहरूले लेखेका छन्।
कोरोना संक्रमितलाई नै किन खतरा?
कोभिड–१९ का बिरामीलाई औषधिका रूपमा स्टेरोइडको प्रयोग गर्ने गरिन्छ। कोभिडको प्राणघातक असरका रूपमा रहेको फोक्सो लगायत अंगहरूमा हुने सुजन (इन्फ्लामेसन) रोक्नका लागि नेपालमा पनि स्टेरोइड प्रयोग गर्दै आइएको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको इन्टरनल मेडिसिन विभागका सहप्राध्यापक डा. सुवास पन्तले बताएका छन्।
नेपालमा अक्सिजनको अभाव सुरु हुँदै आएको अवस्थामा अक्सिजन नपाएमा समाधानका रूपमा स्टेरोइड प्रयोग गर्न संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले आइतबार सामाजिक सञ्जालमार्फत् सुझाएका थिए।
तर, कालो ढुसीलाई गम्भीर अवस्थामा रहेका कोभिड–१९ का बिरामीलाई औषधीका रूपमा दिइने स्टेरोइडको प्रयोगले सक्रिय बनाएको हुनसक्ने भारतका डक्टरहरूले बताएको बीबीसीले लेखेको छ। स्टेरोइडले मधुमेह भएका र नभएका दुवैमा सुगर लेभल बढाउने र प्रतिरोधात्मक क्षमता घटाउने भएकाले कमजोर रोग प्रतिरोधका कारण म्युकरमाइकोसिसका केस देखापरेका भारतीय विज्ञहरूको निष्कर्ष छ।
यसर्थमा स्टेरोइड प्रयोग गरिरहेका समग्र कोभिडका बिरामीलाई म्युकरमाइकोसिसको खतरा हुन्छ।
‘कोभिड–१९ संक्रमणले यसै पनि सुगर लेभल उच्च बनाएको हुन्छ। तर, इन्फ्लामेसन रोक्न स्टेरोइड दिनुपर्ने हुन्छ। हामीले सुगर लेभल अति नै बढी भए वा मधुमेहको बिरामी भए सुगर मनिटरिङ गरेर, इन्सुलिन दिएर स्टेरोइड दिने गरेका छौं,’ डा. पन्तले भने।
भारतको राष्ट्रिय कोभिड–१९ टास्क फोर्सको सुझाव के छ?
नाक बन्द हुने, नाकबाट कालो वा रगत भएको पदार्थ निस्किने, गालाको हड्डी दुख्ने, नाकको डाँडी वा तालुको रंग कालो हुने, दाँत दुख्ने वा खुकुलो हुने, धमिलो वा एउटै कुरा दुईवटा देखिने, ज्वरो आउने, छालामा घाउ हुने, सास फेर्न गाह्रो हुने आदि संकेत कोभिड–१९, मधुमेहका बिरामी वा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा देखिएमा म्युकरमाइकोसिसको शंका गरी परीक्षणमा जानु पर्ने भारतको राष्ट्रिय कोभिड–१९ टास्क फोर्सको सुझाव छ।
साथै धुलो हुने ठाउँ जाँदा मास्कको प्रयोग गर्नुका साथै माटो र मलको काम गर्दा पञ्जा, जुत्ता र शरीर ढाक्ने खालका लामा लुगा लगाउन र स्क्रब बाथ गरेर सफा रहन टास्क फोर्सले सुझाएको छ।































प्रतिक्रिया