अक्सिजन अभावका कारण कोरोना संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आएको बेला चीनबाट मुलुकमा पहिलोपटक अक्सिजन ब्याग ल्याइएको छ।
एभरेष्ट ग्यास ग्रुपका अध्यक्ष तथा व्यवसायी शिवप्रसाद घिमिरेले चीनबाट पहिलोपटक अक्सिजन ब्याग काठमाडौं ल्याएका हुन्। बिहीबारदेखि बजारमा अक्सिजन ब्याग किन्न पाइने एभरेष्ट ग्यासले जनाएको छ।
यसचोटी चीनबाट पाँच हजार सेट अक्सिजन ब्याग नेपाल भित्रिएको छ। प्रति सेट ब्यागको बजार मूल्य भ्याटसहित ८ सय ७५ रुपैयाँ कायम गरिएको छ।
महामारीका बेला सरकारले अक्सिजनलगायत सामानमा कर छुट दिएको छ। तर, नेपालमा पहिलोपटक अक्सिजन ब्याग आएकाले कोड नम्बर समेत नभएकाले कर तिरेरै विमानस्थलबाट सामान निकालेको घिमिरेले बताए।
ग्रुपअन्तर्गतका दुई कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेड प्रालि र एभरेष्ट ग्यास उद्योग प्रालिले चीनबाट पहिलो लटमा मंगलबार नेपाल एयरलाइन्सको जहाजबाट ब्याग काठमाडौं ल्याएका थिए। तर, भन्सार जाँचपास गरेर गोदाममा बिहीबार मात्र आइपुगेको घिमिरेले केन्द्रबिन्दुलाई जानकारी दिए।
घिमिरेका अनुसार पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन ब्याग तथा ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर हवाई मार्गबाट ल्याउने योजना भए पनि पहिलो चरणमा ५ हजार अक्सिजन ब्याग मात्रै ल्याइएको छ।
त्यस्तै, १० लिटर क्षमताका २ हजार २ सय र ४० लिटर क्षमताका २ हजार २ सय ५० गरी ४ हजार ७ सय ५० अक्सिजन सिलिन्डर जेठ ७ भित्र स्थलमार्गबाट नेपाल ल्याइने उनको भनाइ छ।
कोरोना महामारीका कारण नेपालमा अक्सिजनलगायतका सामान अभाव भएकाले सरकारको मात्रै भर परेर बस्न नहुने र आफ्नो पहलबाट जे सकिन्छ, जीवन बचाउनका लागि त्यो गर्नुपर्ने अवस्था आएकाले आफूले तत्काल अक्सिजन ब्याग ल्याएको घिमिरेको भनाइ छ। सातै प्रदेशमा सामान पुर्याउने उद्देश्यले करिब १० करोड बराबरको सामान ल्याउन लागेको उनले जानकारी दिए।
यसभन्दा पहिले नेपालमा अक्सिजन ब्याग प्रयोगमा अएको छैन। अक्सिजन प्रयोग गर्नुपर्ने बिरामीले अक्सिजन ब्याग आफूसँगै लिएर हिँड्न मिल्छ र चाहिएको बेला मास्कमार्फत् अक्सिजन लिन मिल्छ।
अक्सिजन ब्याग लागत मूल्यमा आवश्यकताका आधारमा अस्पताल तथा व्यक्तिलाई उपलब्ध गराइने घिमिरेले जनाए। ‘यस्तो संकटको घडीमा हामी व्यवसायीले विदेशमा रहेको नेटवर्कमार्फत् अक्सिजनलगायत अत्यावश्यकीय स्वास्थ्य सामग्री नेपाल ल्याउन आवश्यकता देखेर यो प्रयास गरिएक हो,’ उनले भने।
यातायातको पहुँच नपुगेका क्षेत्रका लागि संक्रमितलाई अस्पताल नपुर्याउन्जेलसम्म अक्सिजन ब्याग झनै उपयोगी हुने घिमिरको भनाइ छ। अन्य मुलुकमा यस्तो ब्याग आपतकालीन उपचारका लागि प्रभावकारी हुँदै आएको छ।
नाक वा मुखमार्फत् अक्सिजन पठाउन सकिन्छ। प्रवाह दर औसतमा ०.७५ एमएल राख्दा ब्यागले एक घन्टा पुग्ने देखिन्छ।
पछिल्लो समय सरकारले अस्पतालमा अक्सिजन व्यवस्थापन गर्न नसक्दा यस्तो समस्या आएको छ। उत्पादन गर्ने उद्योग सीमित भएकाले अहिले भएका उद्योगबाट अक्सिजनको माग पूरा गर्न नसकिएको उनको धारणा छ।





























प्रतिक्रिया