काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल अस्पताल टेकु र छत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटीलाई २-२ थान भीजी ७० मोडलका भेन्टिलेटर प्रदान गरेको छ।
शुक्रबार महानगर प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशकहरुवीच सम्झौता गरेर उपकरण प्रदान गरिएको हो । काठमाडौँ महानगरपालिकालाई यी उपकरण भगिनी सहर तिव्वतको ल्हासाले महामारीविरुद्धको लडाइँमा सघाउन पठाएको हो ।
उपकरण हस्तान्तरण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले भने, आजैदेखि भेन्टिलेटर सञ्चालनमा ल्याएर जनताको जीवन बचाउन थाल्नोस् ।
काठमाडौँ महानगरले अहिले सबै काम थाँती राखेर जनताको जीवन बचाउन प्रयास गरिरहेको महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको भनाइ थियो । यसैगरी प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, महानगरले आन्तरिक संरचना र क्षमताबाट आफैँ र सरकारी तथा सामुदायिक अस्पतालहरुलाई सहयोग गरेर वृहत्तररुपमा कोभिडविरुद्ध काम गरिरहेको बताए।
भेन्टिलेटर प्राप्त गरिसकेपछि टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले, कोभिड संक्रमणले स्वास्थ्य क्षेत्रलाई कठिन ठाउँमा लगेका बेला महानगरबाट भेन्टिलेटर प्राप्त भएपछि अस्पताल थप सेवा दिन सक्ने भएको उल्लेख गरे । त्यस्तै, छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले आफ्नो अस्पताललाई कोभिड अस्पताल बनाउन थप बल पुगेको बताए । छत्रपाटी चिकित्सालय महानगरको कोभिड अस्पताल हो । यो सञ्चालनको अन्तिम तयारीमा छ। उनको भनाइ थियो।
काठमाडौँ महानगरले यस अघि सरकारी र सामुदायिक गरी १२ वटा अस्पतालहरुलाई कोभिडको उपचारमा क्षमता बढाउन विभिन्न खालका सहयोग गरिसकेको छ । यसबाट काठमाडौँको सामाखुशीमा २ सय वेडको आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर र नरदेवी अस्पतालमा ५० वेडको इचडीयू सञ्चालनमा आइसकेको छ । यसैगरी छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ वेडको कोभिड अस्पताल सञ्चालन अन्तिम तयारीमा पुगेको छ।
ती अस्पतालहरुमा थप ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी-प्याप) सहितका उपकरण जडान हुँदैछन्।































प्रतिक्रिया