पाँचथरमा विवाह समारोहबाट फैलियाे काेराेना, एकै टोलमा ४४ सङ्क्रमित

पाँचथरमा विवाह समारोहबाट फैलियाे काेराेना, एकै टोलमा ४४ सङ्क्रमित

केन्द्रबिन्दु
0
Shares

पाँचथरकाे हिलिहाङ गाउँपालिकाका एकै टोलमा हालसम्म कोरोनाका ४४ जना सङ्क्रमित भेटिएका छन् । हिलिहाङ गाउँपालिका–५ सुभाङको मालबाँसे टोलमा गत शुक्रबारसम्म गरिएको परीक्षणमा ४४ जना सङ्क्रमित फेला परेका हुन् ।

शुक्रबारमात्रै उक्त वडामा ४३ जनाको एण्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको थियो । उनीहरूमध्ये अधिकांश सोही टोलका हुन् । मालबाँसे टोलका विभिन्न उमेर समूहका स्थानीयवासीमा सङ्क्रमण देखिएको छ। यहाँ आयोजित विवाहबाट सङ्क्रमण ब्यापक फैलिएको स्थानीयवासीको अनुमान छ।

अधिकांश स्थानीयवासीमा ज्वरो, रुघा खोकी, खाना नरुच्ने, शरीर दुख्नेजस्ता समस्या भएपछि स्थानीयवासीसमेत रहेका शिक्षक वीरेन्द्र सुहाङको समन्वयमा यहाँका आठ जना बिरामीलाई गत आइतबार प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्याई एण्टिजेन परीक्षण गरियो । परीक्षणमा सबै जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । त्यसयता गाउँपालिकाले उक्त वडाकै अन्य टोलहरू भालुखोप, अमले, जेभालेमा समेत परीक्षण बढाएको छ । वडाभरीमा हालसम्म ५६ जनामा सङ्क्रमण देखिएको वडा सदस्य राजकुमार पन्थाकले जानकारी दिए।

मालबाँसे र भालुखोप क्षेत्रमा निकै ब्यापक रूपमा सङ्क्रमण फैलिएको हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाको प्रमुख चन्द्रप्रसाद घिमिरेले बताए। “यहाँको स्थिति निकै भयावह छ । घर–घरमा बिरामी हुनुहुन्छ”, घिमिरेले भने, “कतिपय बुढापाकाले अझैसम्म परीक्षण गर्न मान्नुभएको छैन् ।” सङ्क्रमण ब्यापक भएपछि जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेन, स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदी लगायतले स्थगलत रुपमा निरीक्षण गरेका छन् ।

सङ्क्रमण देखिएका अधिकांशमा गम्भीर समस्या भने देखिएको छैन । सामान्य समस्या भएका कारण सबैजसो स्थानीयवासी नियमित दैनिकीमा फर्किएको स्थानीयवासी युवा दिलकुमार खुदाङले जानकारी दिए। “सबैको अवस्था सामान्य रहेकाले नियमित काम गर्न थालेका छौँ”, उनले भने, “समस्या पूरै निको भएको भने छैन ।” उक्त टोलका अधिकांश स्थानीयवासीमा कोभिड–१९ सँग मिल्ने लक्षण भएका समस्या देखिएका भए पनि कतिले परीक्षण गरेर घरेलू औषधि सेवन गरिरहेका छन् भने कतिपयले परीक्षण नै नगरी रोगसँग जुधिरहेका छन्। “तर अब अवस्था सामान्य बन्दै गयो”, खुदाङले भने।

यहाँबाट परीक्षण बाहिर फैलन नदिन सङ्क्रमण फैलिएका टोलहरूलाई सिल गरिनाका साथै नियमित सुरक्षाकर्मी परिचालन गरिएको छ। यहाँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेदिक औषधि तथा कोरियामा रहेका स्थानीयवासी युवाको सहयोगमा केही राहत वितरण भएको शिक्षक सुहाङले जानकारी दिए। सङ्क्रमण रोकथामका लागि आजदेखि पुनः परीक्षण थालिएको हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

सङ्क्रमणका कारण घरमै बस्नु परेपछि दैनिक ज्याला मजदुरी गर्ने कतिपय स्थानीयवासीलाई दैनिकीमा समेत समस्या परेको स्थानीयवासीले गुनासो गरेका छन्। “सङ्क्रमित भएपछि काममा जानसक्ने अवस्था रहेन। कसैले पनि दैनिक मजदुरी गर्नेलाई राहत र सहयोग गरेका छैनन्”, स्थानीयवासी युवा मदनकुमार खुदाङले भने, “बाहिर बजार पसलमा गएर बाँकी ल्याउन पनि टोलका सबैजसो सङ्क्रमित हुँदा समस्या पर्याे।”रासस

Skip This
Skip This
Logo