हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। संक्रमणदर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय भएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिं बन्द गर्ने निर्णय प्रशासनको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएको मुद्दा कसरी लड्ने भन्ने विषयमा विपक्षी गठबन्धनका नेताहरूले आज सामूहिक छलफल गरेका छन्। आजको छलफलमा न्यायिक लडाइँ कसरी लड्ने भन्नेबारेमा छलफल’ भएका नेताहरूले बतााएका छन्। यसैबीच प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका अनुसार, संवैधानिक इजलासमा नपरेका निवेदनहरु आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुनेछ ।
बजेट घोषणको मिति नजिकिँदै गर्दा अब कस्तो बजेट आउने हो र कुन कुन क्षेत्रलाई यसले सम्बोधन गर्ने हो भन्ने चासो बढ्न थालेका छ। यसैबीच उद्योग वाणिज्य महासंघले आगामी आर्थिक बर्षको बजेट कोभिड १९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्थासहितको आउनु पर्ने माग गरेको छ। महासंघले महामारीबाट जनताको जीवन रक्षाका लागि खोप र स्वास्थ्य पूर्वाधारसँगै अर्थतन्त्रलाई चलायमान बनाउने विषयलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनका लागि मूल्य अभिवृद्धि करको दर घटाएर आयकरको दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिएको छ।
पछिल्लो राजनीतिक अवस्थाबारे सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार पूर्वसभामुखहरुसँग परामर्श गरेका छन्। परामर्शमा दोश्रो पटक पनि प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि राजनीतिक संकट समाधानको विकल्पबारेमा छलफल भएको पूर्वसभामुखहरूले बताएका छन्। त्यसमा पनि आजको छलफलमा सरकारको निर्णय असंबैधानिक हुनुका साथै यसले जनताको मतलाई अपमान गर्ने काम गरेको निष्कर्ष निकालिएको पूर्व सभामुखहरूले प्रतिक्रिया दिएका छन्।
कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंकाको भ्रमण नगर्ने आफ्ना नागरिकलाई अमेरिकाले अपिल गरेको छ। जापानको अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रुपमा बन्द भएको कारण अमेरिका फर्कनु पर्ने नागरिकहरुले ती दुई देशका राजदूतावासमा सम्पर्क राख्नसमेत भनेको छ । विदेशकै प्रसंगमा ंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।





























प्रतिक्रिया