विश्वभर खोपको चरम अभाव खड्किरहेको छ। विश्व स्वास्थ्य संगठनबाट अनुमति पाएका खोपहरु जति उत्पादन भएका छन्, आफ्नो देशमा भित्र्याउन सबै मुलुक सक्रिय भएर लागिपरेका छन्।
तर, खोप उत्पादकले आफ्नै मुलुकमा मात्रै खोप सीमित गर्ने तथा निर्यात ठप्प बनाउनुले खोप अभाव अहिले साझा समस्या बनेको छ।
उदाहरणका लागि, भारतमा विश्वको सबैभन्दा बढी खोप उत्पादन हुन्छ। तर, भारतले उत्पादन गर्ने दुईवटै खोप निर्यातमा भारत सरकारले प्रतिबन्ध लगाएको छ।
फाइजर, मोडोना, स्पुतनिक, भेरोसेल खोप अन्य मुलुकमा निर्यातभन्दा पनि उत्पादन भएकै मुलुकमा खपत भइरहेका छन्।
खोप उत्पादन असम्भव भएका मुलुकले भने कूटनीतिक सम्बन्धमार्फत् केही अनुदान र केही अग्रिम भुक्तानी दिएर खोप सुनिश्चित गरिरहे पनि कुल जनसंख्याको केही प्रतिशतबाहेकले खोप लगाउन पाएका छैनन्। ती मुलुकमा खोप अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न सकिरहेका छैनन्।
नेपालमा खोप आयातको सम्भावना
नेपालमा हालसम्म सबैभन्दा धेरै खोप कूटनीतिक सम्बन्धमार्फत भित्र्याएको छ। हालसम्म नेपालले भारत, चीन तथा कोभ्याक्स सुविधाबाट खोप भित्र्याएको छ। एसियाली मुलुकमा भारतले मात्र खोप अभियान सञ्चालन गरिरहेको अवस्थामा नेपाल सरकारले भारतबाटै १० लाख खोप भित्र्याएर खोप अभियान सञ्चालन गरेको थियो।
अब पनि उस्तै कूटनीतिक सम्भावना रहेको विज्ञहरु बताउँछन्। जनस्वास्थ्य वैज्ञानिक डा.समीरमणि दीक्षित सरकारले जिटुजी तथा कूटनीतिक संम्बन्धमार्फत् चाँडै खोप भित्र्याउनुपर्ने तर्क राख्छन्।
‘निजी क्षेत्रलाई पनि खोप आयात गर्न दिनुपर्छ तर, निजीको मात्र बाटो हेरेर भएन। निजीले आफ्नो तरिकाले काम गर्ला, सरकारले आफ्नो तरिकाले काम गर्नुपर्छ,’ उनले भने।
अहिलेको आवश्यकता खोप रहेको र यो जसले ल्याए पनि हुने दीक्षितको भनाइ छ।
खोप आयातमा निजीको प्रगति के छ ?
औषधि व्यवस्था विभागबाट अहिलेसम्म हुकुम डिस्ट्रिब्युटर्स, लोमस फर्मा र इमाराल्ड फर्माले खोप आयात र बिक्री वितरणको अनुमति लिएको छ।
विभागका महानिर्देशक भरत भट्टराईका अनुसार इमाराल्डले बायोटेक इन्डियाको ‘कोभ्याक्सिन’, लोमसले रसियाली सरकारको ‘स्पुतनिक–भी’ र हुकुमले भारतको ‘सेरम’ खोप ल्याउने अनुमति पाएका छन्।
‘हामीले दिएको अनुमति शर्तका आधारमा निजी क्षेत्रबाट खोप आयात गरी बिक्री–वितरण गर्न सक्छन्,’ महानिर्देशक भट्टराईले भने, ‘तर, आजसम्म उनीहरुले कुनै पनि खोप ल्याउन लागेको सूचना मसँग छैन।’
के कारणले निजी कम्पनीले खोप ल्याउन सकेनन् त ? महानिर्देशक भट्टराई भन्छन्, ‘अहिले विश्वभरि खोपको उत्पादनभन्दा माग उच्च छ। उत्पादन सीमित भएकाले कम्पनीहरूले चाहे पनि सहजै आफ्नै प्रयासमा खोप ल्याइहाल्न सहज अवस्था छैन।’
अर्काेतर्फ, सरकारले सहजै खोप ल्याउन सकिरहेको छैन। भारतलाई १० लाख डोज बराबरको रकम उपलब्ध गराइसके पनि हालसम्म प्राप्त भएको छैन।
सरकारी पहलमा खोप किन्न कठिन भइरहेकाले निजीस्तरबाट व्यावसायिक रूपमा खोप आपूर्ति गर्ने सम्भावना निकै कम देख्छन् विज्ञहरु।
सरकारी तवरबाट पहल गर्दा समेत सहजै खोप प्राप्त नभइरहेको अवस्थामा निजी क्षेत्रको जोडबलले मात्र खोप आउनसक्ने नदेखिएको व्यवसायी बताउँछन्। त्यसो त अहिले पनि ‘स्पुतनिक’ खोपका लागि ७० भन्दा बढी देशका कम्पनीको नजर छ।
निजी क्षेत्र पनि अविलम्ब खोप ल्याउन लाग्नुपर्ने उनको भनाइ छ। निजीले खोप ल्याउन सके नागरिकले किनेरै भए पनि खोप लगाउन पाउँथे। दीक्षितका उनुसार निजीले खोप ल्याए अभियान प्रभावकारी हुन्थ्यो र, राज्य कोषमाथि भार कम पर्थ्याे।
स्पुतनिक खोपमा ७० भन्दा बढी मुलुकको नजर
लोमस फर्माले ‘स्पुतनिक भी’ खोप ल्याउन अनुमति पाएको छ। तर, लोमसले अहिलेसम्म खोप ल्याउन सकिने गरी प्रगति नभएको बताएको छ।
सरकारी तवरबाट पहल गर्दा समेत सहजै खोप प्राप्त नभइरहेको अवस्थामा निजी क्षेत्रको जोडबलले मात्र खोप आउनसक्ने नदेखिएको व्यवसायी बताउँछन्। त्यसो त अहिले पनि ‘स्पुतनिक’ खोपका लागि ७० भन्दा बढी देशका कम्पनीको नजर छ।
उनीहरु पनि यो खोपको प्रतीक्षा गरिरहेका छन्। सरकारले कूटनीतिक माध्यमबाट पहल गरी निजीलेभन्दा छिटो खोप ल्याउनसक्ने डा. दीक्षितको धारणा छ।
भारतीय खोप तत्काल पाउन कठिन
अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेको कोभिशिल्ड खोप भारतमा विश्वकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्छ। पछिल्लो समय कोरोनाको नयाँ भेरियन्टले आक्रान्त बनेपछि भारतले खोप निर्यात तत्कालका लागि बन्द गरेको छ। यो अवस्थामा निजी क्षेत्रले तत्काल खोप ल्याउन सम्भव नहुने खोपसम्बन्धी विज्ञ तथा जीवाणु वैज्ञानिक डा. सन्तोष दुलाल बताउँछन्।
हालसम्म भारतले नेपाललाई १० लाख डोज खोप अनुदानस्वरुप उपलब्ध गराएको छ।
खोप उत्पादक कम्पनी सेरम आफैंले औपचारिक रूपमै सन् २०२१ को अन्तिमतिरबाट मात्रै अन्य मुलुकलाई कोरोना भाइरसविरुद्धको खोप दिन सकिने बताइसकेको छ। यस्तो अवस्थामा खोपका लागि भारतलाई मात्र कुर्नु निरर्थक हुने दुलालको ठम्याइ छ।
तर, बुधबार दुई देशका राष्ट्रप्रमुख बीच भएको पत्राचारले झिनो आशा पलाएको छ। भारतले दिएको सक्दो सहयोगको आश्वासनले खोप संकट नहोला कि भन्ने थोरै विश्वास पलाएको दुलालको भनाइ छ।
चीनको खोपमा सरकारकै भर
चीन सरकारले अहिलेसम्म ८ लाख डोज ‘भेरोसेल’ खोप नेपाललाई अनुदानमा दिएको छ। भारतमा उत्पादित खोप ल्याउन निजी व्यवसायीले अनुमति लिए पनि अहिलेसम्म चीनबाट खोप ल्याउन निजी व्यवसायी तयार छैनन्। आजसम्म चीन सरकारले आफ्नो खोप बेच्न नेपालसँग कुनै सम्झौता गरेको छैन।
त्यसको लागि सरकारले पहल गर्नुपर्ने देखिन्छ। अनुदान होस् वा खरिद बिक्रीबाट होस्, यसको नेतृत्व सरकारले लिनुपर्ने विज्ञहरुको भनाइ छ।
बुधबार नै नेपाल र चीनका राष्ट्रप्रमुखको टेलिफोन संवादपछि चिनियाँ राष्ट्रपतिले १० लाख डोज खोप अनुदान दिने र अन्य सहयोग पनि गर्दै जाने घोषणा गरेका छन्।
दुलालका अनुसार चीनले कूटनीतिक सम्बन्ध बलियो पार्न नेपाललाई सहयोग गर्न चाहेजस्तो देखिन्छ, त्यही अनुसार नेपाल सरकारले पनि पहल गर्नु जरुरी छ।
नेपालमा कहाँबाट कति खोप आयो ?
हालसम्म भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज र नेपाली सेनालाई १ लाख डोज गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको छ।
त्यस्तै चीनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त भएको छ। जम्मा ३२ लाख ४८ डोज खोप अहिलेसम्म नेपालले प्राप्त गरिसकेको छ।





























प्रतिक्रिया