कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय पर्वतले जारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ। 

कालीगण्डकी नदीमा बिहीबारदेखि नै बहाब बढ्दै गएकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो।  जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट, मिलनचोक, लस्ती, खनियाघाट, कुश्मा नगरपालिकाको मालढुंगा, मोदीवेणी, दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित सेतीवेणी, फलेबासको जैमिनीघाटलगायत क्षेत्रका बस्ती उच्च जोखिममा छन्। 

पश्चिम बंगाल खाडीमा विकसित जलवायुको प्रभाव र ‘यास’ चक्रवातका कारण नेपालमा समेत भित्रिएको मौसम बदलीका कारण सबैलाई सतर्क रहन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुवेदीले बताए। 

चामेका ३६ घर जोखिममाः बस्ती डुबानमा

निरन्तरको वर्षाका कारण मनाङको चामे गाउँपालिका–३ नयाँ बजारको बस्तीमा बाढी पसेको छ। निरन्तर ५२ घण्टा पानी परेपछि नयाँ बजारको बीचको घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेको छ। खोलामा आएको बाढी नयाँ बजारको बस्तीमा पसेको छ । 

पश्चिम बंगालखाडीमा विकसित जलवायुको प्रभाव र शक्तिशाली यास चक्रवातका कारण जिल्लाको तल्लो भागमा धेरै पानी परेपछि अहिले बस्ती नै जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जोखिममा परेको घरपरिवारलाई स्थानान्तरण गरिएको छ। ‘लामो समयसम्म लगातार परेको पानीले खोला बढेको छ, जोखिमयुक्त घरपरिवारलाई छिमेकी वडामा स्थानान्तरण गरेका छौं’, लामिछानेले भने, ‘सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय उद्धारमा खटिरहनुभएको छ, बस्तीका मानिसलाई भने सुरक्षित स्थानमा व्यवस्थापन गरिरहेका छौं।’

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले भने, ‘निरन्तरको वर्षाले गर्दा क्षति पुगेका क्षेत्रमा अनुगमनमा गएको थिएँ, आफैंलाई झण्डै बाढीले बगाएन, घरपरिवारले समयमै थाहा पाएर भागेछन् ।’ ‘कोभिडका समयमा संक्रमितको व्यवस्थापन र लगातारको वर्षाले क्षति पुगेको ठाउँ अवलोकन तथा अनुगमनमा निस्कँदा यता आफैंँ जोखिममा परिएछ,’ घलेले भने।रासस

Logo