सिन्धुपाल्चोक जिल्लामा मंगलबार परेको अविरल वर्षापछि आएको बाढीमा परि ७ जनाको मृत्यु भएको छ। विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल र जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले घटनामा हालसम्म ७ जनाको शव भेटिएको जानकारी दिएका छन् । परिवारकाे सम्पर्कमा नभएकाले बाढीमा २० जना बेपत्ता हुन सक्ने बताइएकाे छ।
प्रहरीले मंगलबार उद्धार गर्न निरन्तरको वर्षाका कारण सकेको थिएन। बुधबार बिहान पानी पर्न रोकिएको र उद्धार गर्न सहज भएकोले डिएसपी प्रकाश सापकोटाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। उक्त टोलीले ७ जनाको शव फेला पारेको हो।
शव फेला परेकामा २ जना महिलाको र पाँच जना पुरुषको रहेको डीएसपी सापकोटाले बताए। जसमध्ये माधव भण्डारी, ज्योति विसी, टीकामाया खड्का, ज्ञानेन्द्र कक्षपति, सुरेन्द्र नेपाल र च्यामा तामाङ बेपत्ता भएको जनाएको छ । च्यामा तामाङकी श्रीमती पनि बेपत्ता भएकी तर उनको नाम खुल्न बाँकी छ । यहाँ अहिले उद्धारको कार्य जारी छ । सबै क्षतिको विवरण आउन बाँकी छ ।
यसरी हेर्दा असारको सुरुमै सिन्धुपाल्चोक बाढी पहिरोको चपेटामा परेको छ। विगतमा पनि यो जिल्ला सबैभन्दा बढी प्रभावित भएको थियो । यसपटक हामीले सिन्धुपाल्चोकमा विगत ८ वर्ष यता भएका प्राकृतिक विपत्ति र दुर्घटनाहरुका बारेमा जानकारी दिने प्रयास गरेका छौं । कहिले के भयो सिन्धुपाल्चोकमा ?:
वि.सं. २०७२ को भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकमा वर्षेनी प्राकिृतक विपत्ति र दुर्घटनाले झन ठूलो पीडा थपिदिएको छ। प्रकृतिले दिएको विपत्तिले यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ। भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिले नपुगेर अझै यहाँ सडक तथा हवाई दुर्घटनासमेत थपिने गरेकाले पछिल्ला केही वर्षमा विपत्ति नै सिन्धुपाल्चोकको नियति बन्न पुगेको छ।
विसं २०७१ पछिदेखि नै सिन्धुपाल्चोक जिल्लाले वर्षेनी ठूला प्राकृतिक प्रकोप र दुर्घटनाको सामना गरिरहनु परेको छ। यस्ता दुर्घटनाबाट यो वर्ष मात्रै यस जिल्लामा सयौँ सर्वसाधारणले ज्यान गुमाउनु परेको तीतो यथार्थ पाइन्छ।
गत वर्ष भदाैमा परेको अविरल वर्षाका कारण आएको पहिरोले सिन्धुपाल्चोक जुगल गाउँपालिकाको लिदी गाउँ नै पुरिँदा ठूलो मानवीय तथा भौतिक क्षति भयो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सो पहिराेमा २२ जना मृत फेला परेका थिए भने १७ जना बेपत्ता भए। पहिराेले ३७ घर पूर्णरुपमा क्षति भएको थियाे।
सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट करिब एक दिनको पैदलयात्रापछि मात्रै पुगिने साबिक गोल्चे गाविसको लिदी गाउँ जिल्लाकै विकट गाउँका रुपमा परिचित छ। यस लिदी गाउँमा रहेका ७२ घर परिवारले गएको ०७६ माघ १६ गते पहिलो पटक बिजुली बत्तीको उपयोग गर्न पाएका थिए। यस गाउँले गत हिउँदमा मात्रै सडकसँग नाता जोड्न पाएको थियो। बिजुली बत्तीले ल्याएको उत्साह र सडक जोडिएसँगै छाएको उमङ्गमा लिदीबासी धेरै रमाउनै पाएनन्।
उक्त गाउँको भौगर्भिक बनावट कमजोर रहेकोले माथिको डाँडाबाट कुनै पनि बेला पहिरो खस्न सक्ने अनुमान यसअघि नै विज्ञहरुले गरेका थिए। त्यसैले पनि निम्न आर्थिक अवस्था भएका यहाँका स्थानीयसहितलाई सार्न जुगल गाउँपालिका वडा नं २ का वडाध्यक्ष प्रताप लामाले बस्ती जोखिममा रहेको भन्दै त्यहाँबाट उक्त बस्ती स्थानान्तरणको माग राख्दै जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म निवेदन दिएको बताए ।
यहाँको निम्न आर्थिक अवस्था भएका सर्वसाधारणले तत्काल बस्ती सार्नसक्ने सम्भावना थिएन । वडाध्यक्ष लामाले भने, “जाने ठाउँ पनि अन्यत्र कतै नभएपछि पटकपटक जोखिम भयो बस्ती सारिदिनु पर्यो भन्दै जिल्ला हुँदै केन्द्रसम्म निवेदन दियौँ तर कसैले सुनेन, अहिले यो क्षति व्यहोर्नु पर्यो ।”
लिदीको प्रकोप त उदाहरण मात्र हो । यस्ता दर्दनाक प्राकृतिक विपत्ति सिन्धुपाल्चोकले वर्षौं अघिदेखि कैयौँ पटक झेल्दै आएको छ। जुन अवस्थाको बयान गर्ने हो भने मानिसहरु सिन्धुपाल्चोकमाथि नै किन यस्तो बज्रपात भइरहेको छ भनेर आश्चर्यमा पर्न सक्छन् ।
मेलम्चीमा पुरिएर आठ मजदुरको मृत्यु
जिल्लाको मेलम्ची बजारमा गत वर्ष साउन १८ गते रातिको पहिरोमा पुरिएर आठ मजदूरको मृत्यु भएको थियो भने एक जनाको जिवितै उद्धार गरिएको थियो । अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिरोमा परी कभर्ड हल बनाउन बसेका मजदूरहरुको मृत्यु भएको थियो। मृत्यु हुनेमा बारा तथा केही भारतीय नागरिक रहेको भन्दै प्रहरीले मृतकको सनाखतपछि शव परिवारलाई बुझाएको थियो ।
सुरुङको गेट भत्किँदा एकको मृत्यु, एक जना बेपत्ता
मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउन परीक्षण भइरहँदा गत वर्ष असार ३० मा सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान नजिकैको फ्लसिङ अडिटको ढोका खुलेर चार कर्मचारीलाई गाडीसहित बगाएको थियो।
घटनामा परेका तीन इञ्जिनीयरमध्ये एकको मृत्यु भयाे। एक जना कर्मचारी अझै फेला परेका छैनन् । पानी पठाउन परीक्षणका क्रममा सुरुङको १७ नं गेट भत्किँदा भएको उक्त दुर्घटना छानबिन गर्न मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा प्राविधिकसहितको समितिसमेत गठन गरेको थियाे।
२०७२ सालको भूकम्प
गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर ०७२ साल वैशाख १२ गते शनिबार मध्याह्न गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पबाट देशमै सबैभन्दा ठूलो जनधनको क्षति सिन्धुपाल्चोक जिल्लामा भयो। दिउसो ११ बजेर ५६ मिनेटमा आएको भूकम्पमा परी तीन हजार ५७१ जनाले ज्यान गुमाए। यस विनाशबाट असी हजार निजी घर संरचना माटोमै मिले । सरकारी तथा सामुदायिक भवन संरचना ढले, विद्यालय भवन भग्नावशेषमा परिणत भए । नेपालकै सबैभन्दा बढी मानवीय र भौतिक क्षति व्यहोरेको सिन्धुपाल्चोक अझै पनि पूर्णरुपमा तङ्ग्रिन सकेको छैन । यसैमाथि ठूला बिपत्ति थपिएपछि यहाँका बासिन्दा निराश छन् ।
जुरेको पहिरो
विसं २०७१ साउन १७ गते साविकको राम्चे गाविस वडा नं ५ को इटिनीको पहरो फुटेर गएको पहिरोले ३१ जना स्कुले बालबालिकासहित १४५ जनाले ज्यान गुमाउनु परेको थियो । नदी थुनिएपपछि घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मलगायत १५३ घर पूर्णरूपमा ध्वस्त भएका थिए ।
भोटेकोशी नदी नै थुनिने गरी आएको कहालीलाग्दो पहिरोको प्राकृतिक दुर्घटनामा परी धेरैको घरबास नै गुम्यो र बेसहरा बने । अझै पनि धेरै घाइतेको उपचार र राहत नपाउँदाको गुनासो सकिएको छैन । पहिरोले कतिको घरजग्गा गुम्दा गाउँबाटै विस्थापित हुनुपर्याे । जुरेको यो ठूलो प्राकृतिक विपत्तिले धेरैलाई बिर्सनै नसक्ने छाप छोडेर गयो ।
जम्बु पहिरामा दुईको मृत्यु २० बेपत्ता
गत वर्ष असार अन्तिममा अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबीसेस्थित जम्बु लगायतका ठाउँका दुई दर्जनभन्दा बढी घर बगाएको थियो । बीस जना बेपत्ता भएका थिए भने दुई जनाको शव फेला परेको थियो ।
बाढीले अरनिको राजमार्ग अन्तर्गतको खुर्सानीबारी, खागदलस्थित पक्की पुल, जुरे लगायतका ठाउँको सडक पूर्णरूपमा कटान गरेको थियो ।
ठूला सडक दुर्घटना
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा ०७६ असोज २४ गते बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो। इन्द्रावती गाउँपालिकाको भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नं.को बस दुर्घटना भएको हो। एकसय २० भन्दा बढी यात्रुले भरिएको बस झिल्के मोडमा दुर्घटनामा परेको थियो।
यसैगरी साेही वर्षको कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गर्दा सुकुटे नजिक दुर्घटना भएको थियो। चालकको लापरवाहीका कारण बस दुर्घटना भएको निष्कर्ष प्रहरीको अनुसन्धानबाट निस्किएको थियो।
त्यस्तै अर्को सडक दुर्घटना लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा भएको थियो । दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा४ख ४४६८ नम्बरको बस सो स्थानमा पल्टिँदा १५ जनाको ज्यान गएको थियो । दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको बस ०७६ मङ्सिर २९ गते ६ किलो भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
दुई ठूला हेलिकप्टर दुर्घटना
सिन्धुपाल्चोकमा दुई ठूला हेलिकप्टर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो। जिल्लाको घोर्थली र यमुनाडाँडामा भएको दुर्घटनामा पाँच जना नेपालीसहित ६ जना अमेरिकी र एक जना डच नागरिकको मृत्यु भएको थियो ।
घटना विरण अनुसार विसं २०७२ को वैशाख १२ गतेपछि २९ गते आएको पराकम्पबाट क्षति पुगेको दोलखा जिल्लामा मानवीय सहायताका लागि जाँदा अमेरिकी हेलिकाेप्टर दुर्घटनामा परेको थियो । नेपालमा खोजी तथा उद्धारमा सघाउन आएको अमेरिकी सेनाको हेलिकप्टर युएच वानवाई ह्यु हराएको चौथो दिन जेठ १ गते शुक्रबार सिन्धुपाल्चोकको विकट गाउँ घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
शक्तिशाली परकम्पपछि ६ जना अमेरिकी र दुई जना नेपाली सेना लिएर त्रिभुवन विमानस्थलबाट दोलखाका लागि उडेको उक्त हेलिकप्टर सिन्धुपाल्चोकको सुनखानीमा पुगेपछि सम्पर्कविहीन भएको थियो ।
त्यस्तै २०७२ साल जेठ १९ गते भूकम्पपीडितका लागि काठमाडौँबाट राहत सामग्री लिएर दोलाखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकको साविक यमुनाडाँडा–८ शिला पर्वतको जङ्गलमा दुर्घटना भएको थियो। नाइनएन एजेपी कल साइन भएको उक्त हेलिकप्टरमा क्याप्टेन सुवेक श्रेष्ठसहित चार यात्रुको ज्यान गएको थियो । हेलिकप्टरमा तीन नेपाली र एक डच नागरिक थिए ।





























प्रतिक्रिया