उपत्यकाको निषेधाज्ञा एक हप्ता थप, ‘जोरबिजोर प्रणाली’मा निजी सवारी चलाउन पाइने

उपत्यकाको निषेधाज्ञा एक हप्ता थप, ‘जोरबिजोर प्रणाली’मा निजी सवारी चलाउन पाइने

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा असार १४ गतेसम्म बढाइएको जिल्ला प्रशासन अधिकारीहरूले जानकारी दिएका छन्। आइतवार साँझ बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाका प्रावधानहरूलाई पहिलेको भन्दा थप खुकुलो बनाउँदै त्यसलाई एकसाता बढाउने निर्णय गरेको हो ।
 
नयाँ निर्णयसँगै अब उपत्यकामा निजी सवारीसाधन ‘जोरबिजोर प्रणाली’मा चलाउन पाइने भएको छ। त्यस्तै ट्याक्सीले पनि दूरी कायम गर्दै यात्रु राखेर जोरबिजोर प्रणालीमा सेवा दिन सक्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए।

अन्य सार्वजनिक सवारीसाधन भने तत्काल चलाउन नपाइने प्रशासनको निर्णय रहेको छ। त्यस्तै खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू पहिलेकै जस्तो बिहान ११ बजेसम्म खुल्न पाउने छन्। गत साता नै त्यस्ता पसलहरू बिहान ११ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको थियो। 

पसलहरुलाई बिहान ११ बजेदेखि ४ बजेसम्म बार अनुसार सञ्चालन गर्न दिइने निर्णय भएको छ । जस अनुसार आइतबार, मंगलबार र बिहीबार सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल(मोबाइल तथा कम्युटर पसल) खोल्न दिइनेछ । त्यस्तै सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्टल स्टोर(ग्रोसरी बाहेक अन्य), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङ खुल्न दिइने निर्णय भएको छ ।

मंगलवारदेखि लागू हुने नयाँ निषेधाज्ञालाई पहिलेको तुलनामा निकै खुकुलो पारिएको छ। संक्रमण बढेपछि बन्द गरिएका सरकारी सेवा पनि अब शैक्षिक संस्था बाहेक स्वास्थ्य मापदण्ड र आलोपालो प्रणालीमा सेवा सुरु गर्ने निर्णय तीन जिल्ला प्रशासन कार्यालयहरूको रहेको छ। 

कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि गत वैशाख १६ गते एक साताका लागि निषेधाज्ञा लगाइए पनि त्यसपछि पटकपटक थप गर्दै निषेधाज्ञा जारी राखिएको छ। 

तर निषेधाज्ञा पूर्ण प्रभावकारी हुन नसकेको विभिन्न निकायबाट गुनासो भने कायमै छ। त्यसका लागि सरकारले कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश ल्याएर निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सजाय र जरिवानाको समेत व्यवस्था गरेको छ। तर, यस बीचमा देशमा कोरोना संक्रमितको संख्यामा भने कमी आउन सकेको छैन। 

पछिल्लो तथ्यांक अनुसार दैनिक परीक्षणको कुल २१ प्रतिशतमा अझै पनि संक्रमण पुष्टि भइरहेकाले पनि निषेधाज्ञा कायम गरिएको प्रशासन कार्यालयहरूको भनाइ छ। 

Logo