हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
काठमाडौं उपत्यकामा असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ। आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै एक हप्ता लम्ब्याउने निर्णय गरेको हो। ट्याक्सीसहितका निजी सवारी साधनलाई जोर–विजोर प्रणालीमा चल्ने दिइनेछ। जोर नम्बरका सवारी जोर गते र विजोर नम्बरका सवारी विजोर गते चल्न दिइनेछ। यस्तै, पसलहरू बार अनुसार चलाउने निर्णय गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई गठबन्धनमा आबद्ध दलहरुको चित्त बुझाउन विषयमा अप्ठ्यारो परेको छन्। विश्वासको मत लिनुअघि विभिन्न दलसँग मन्त्रालय बाँडफाँटबारे गरेका सहमतिले उनलाई अहिले निल्नु न ओकल्नु बनाएको हो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेपछि सरकार जोगाउने अभिप्रायले पोखरेलले ९ मन्त्रालय फुटाएर ११ वटा बनाए पनि गठबन्धन दलका सांसदहरूले महत्पूर्ण मन्त्रालय ताकेपछि मुख्यमन्त्री पोखरेल अप्ठ्यारोमा परेका हुन्।
गृहमन्त्री खगराज अधिकारीले प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। आइतबार सिंहदरबारमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसँग छलफल गर्दै अधिकारीले प्राकृतिक प्रकोपको जोखिम न्यूनिकरणका साथै छिटोभन्दा छिटो उद्धार र राहत कार्यमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । मन्त्री अधिकारीले मुलुकको समग्र शान्ति सुरक्षा र कोभिड संक्रमण रोकथाम र उपचारको व्यवस्थापनमा सातै प्रदेशसँग समन्वय गरेर अघि बढ्ने बताएको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।
साताको पहिलो दिन आइतबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६३.११ अंकले घटेको हो। आइतबार बजार बन्द हुँदा नेप्से २९०५.३२ विन्दुमा रोकिएको छ। लगातार बढिरहेको नेप्से धितोपत्र बोर्डले शेयर मूल्यमा चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि उच्च अंकले घट्दै आएको छ। आज पनि घट्ने क्रमले निरन्तरता पाएको हो।
युरोकप २०२० अन्तर्गत शनिबार रातिसम्ममा दोस्रो राउण्डका सबै खेलहरू सकिएका छन् भने आज आइतबार रातिबाट तेस्रो राउण्डका खेलहरू सुरु हुँदैछन्। लिग चरणको दोस्रो राउण्डको समाप्तिमा केही मुलुकहरुले आफ्नो खेललाई परिस्कृत गर्दै लगिरहेका छन् भने केही पूर्व च्याम्पियन मुलुकहरुको खेल अन्यौलग्रस्त देखिएको छ। खेलमा इटालीले आफूलाई अब्बल सावित गर्दै गएको देखिन्छ भने, जर्मनीले दोस्रो खेलमा आइपुग्दा सम्हालिएको प्रदर्शन गरेको देखिएको छ भने, स्पेनले केही निराशा दिएको छ।





























प्रतिक्रिया