यस वर्षको मनसुन सुरु भएसँगै आएको बाढी र पहिरोका कारण थलिएको मेलम्ची नगरपालिकाले बाढी पहिरो प्रभावितहरुका लागि राहत, पुनर्बास तथा पुनस्थापना र पुनर्निर्माणका लागि सम्पूर्ण स्थानीय तहहरुलाई सहयोगका लागि अपिल गरेको छ।
आइतबार एक अपिल पत्र जारी गर्दै मेलम्ची नगरपालिकाले दुःखको घडीमा सबैले साथ सहयोग गर्न भनेको छ।
अपिल पत्र जारी गर्दै नगरप्रमुख डम्बरबहादुर अर्यालले सहयोग रकम पठाउन नेपाल बैंक लिमिटेडको खाता नम्वर पनि सार्वजनिक गरेका छन्।
सहायता भएको रकम सहि र पारदर्शी ढंगले बाढी पहिरो प्रभावितहरुका लागि राहत, पुनर्बास तथा पुनस्थापना र पुनर्निर्माणका लागि खर्च हुने प्रमुखले जारी गरेको अपिल पत्रमा उल्लेख छ।
बाढी र पहिरोका कारण मेलम्चीमा हालसम्म ५०० परिवार विस्थापित भएको, इन्द्रावती र मेलम्ची खोलाले अहिलेसम्म पनि कटान गरिरहेको उक्त पत्रमा उल्लेख गरिएको छ।
त्यस्तै मेलम्ची नगरपालिकाको गौरबको योजनाहरु मेलम्ची सिटी पार्क, बसपार्क, फोहोर मैला प्रशोधन केन्द्रको नाम निसानासमेत नरहेको र बाटो, पुल, झोलुङे पुल, सिंचाई नहर र खानेपानी जस्ता सार्वजनिक संरचनाहरुमा ठूलो क्षति पुगेको उल्लेख छ।
































प्रतिक्रिया