नेपालमा सङ्कलन गरी आनुवंशिक संरचनाको अध्ययन गर्न पठाइएका कोरोना भाइरसका ४८ वटा नमुनामध्ये ४७ वटामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
भारतमा सुरुमा देखा परेको उक्त भेटियन्टका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन भएको पाइएको मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त उत्परिवर्तन नेपालसहित १० वटा देशमा पुष्टि भएको र त्यसलाई K417N नाम दिइएको छ।
स्वरूप परिवर्तन भएर बनेको नयाँ प्रकारलाई एवाई.१ (AY.1) नाम दिइएको मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा "भेरियन्ट अफ कन्सर्न"का रूपमा अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) भेरियन्ट तथा भेटिअन्ट अफ इन्ट्रेस्टका रूपमा कापा भेरियन्ट (B.1.617.1) पुष्टि भएको छ।
यी तीनैवटा भेरियन्टहरू उच्च सङ्क्रामक र सबै उमेर समूहमा प्रभाव पार्ने देखिएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना भाइरस महामारी सुरु भएदेखि छ लाख ४७ हजारभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।
सरकारी तथ्याङ्कअनुसार कोभिडका कारण मृत्यु हुने मानिसको सङ्ख्या ८,७०० नाघेको छ।

नयाँ भेरियन्ट कत्तिको चिन्ताजनक?
जनस्वास्थ्य सम्बन्धी उल्लेख्य समस्या सिर्जना गराउने कोरोना भाइरसको प्रकारलाई 'भेरियन्ट अफ कन्सर्न' भनिने एवं अन्य प्रकारभन्दा फरक देखिँदा त्यसबारे थप चासोका रूपमा हेर्नुपर्ने भाइरसलाई 'भेरियन्ट अफ इन्ट्रेस्ट" का रूपमा बुझ्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन्।
प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा कोभिड महामारीको दोस्रो लहर डेल्टा भेरियन्टका कारण देखिएको तर अहिले त्यो घट्दो क्रममा रहे पनि 'जनस्वास्थ्य मापदण्ड पूरा गर्दै सचेत हुन आवश्यक रहेको' बताएका छन्।
"वैशाख २६ देखि जेठ २० सम्मका नमुना भएकाले यो भेरियन्ट हामीसामु अझै छ यसबाट हामी सजग भइरहन आवश्यक छ भन्ने जानकारी दिन खोजिएको हो," उनले भने।
सरकारले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भारतको नयाँ दिल्लीमा रहेको इन्स्टिट्यूट अफ जीनमिक्स एन्ड इन्टिग्रेटिभ बायोलजीमा त्यस्तो पहिचान गर्नका लागि नमुनाहरू पठाएको थियो।बीबीसीबाट































प्रतिक्रिया