मेलम्ची बाढीपीडितको व्यथाः घरखेत बगायो, परिवार कसरी पाल्नु?

मेलम्ची बाढीपीडितको व्यथाः घरखेत बगायो, परिवार कसरी पाल्नु?

केन्द्रबिन्दु
0
Shares

गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले कमलबहादुर तामाङको खेत बगरमा परिणत भयो।

उनले हिउँदमा लगाएको करिब पाँच रोपनी धानखेत मेलम्चीको बाढीले बगायो। धान लगाउन तयार गरिएको अरु दुई रोपनी खेतको पनि नामनिसान रहेन। 

सिचाइँ गर्न सजिलो, भरिलो धान उत्पादन र बेच्दा भाउ पनि पाइने भएकाले किसानले खोलाकिनारमा खेती लगाउने गर्छन्। खोलाले कटान गरेर बाँकी रहेको खेत नै किसानको आयस्ताको मुख्य बाटो हो।

तामाङले लगाएको बर्खे धान फूल खेल्न थालेको थियो। बाँकी खाली रहेको जमिनमा रोपाइ गर्न उनले त्यहीँको स्थानीय जातको धानको बीउ राखेका थिए। उर्लिँदो मेलम्चीको भेलले उनले जीवनभर कमाएर जोडेको खेत क्षणभरमै बगरमा परिणत भयो।

उनको वर्षभरि खाने अन्न फल्ने र आम्दानी दिने एक टुक्रा जग्गा पनि बाँकी रहेन। ‘म आफू रोगी छु, काम गर्न सक्दिनँ। अब बालबच्चा र जहान कसरी पालूँ,’ गहभरि आँसु बनाउँदै उनले भने, ‘पुस्तौंदेखि हामी यहीँ बस्दै आएका छौं। हामी यहीँ जन्मियौं, यहीँ हुर्कियौं। अहिले बाढीले बिल्लीबाठ पारेको छ।’ मेलम्चीमा यसपालि जत्रो बाढी यसअघि कहिल्यै नदेखेको उनको भनाइ छ।

कमलबहादुर तामाङको मात्रै होइन, असार १ गते र त्यसपछि उर्लिएको मेलम्चीले माथिल्लो हेलम्बुदेखि दोलालघाटसम्म विभिन्न व्यक्तिका सयौं बिघा धानखेत बगाएको छ। 

खेत रहेको स्थानमा अहिले बालुवा, लेदो र ढुंगा थुप्रिएको छ। स्थानीय कमलबहादुर मात्र होइन, तालामाराङका जीवन तामाङ, शेरप तामाङ, हर्क शेर्पालगायत सयौं किसानहरुको धानखेत बगरमा परिणत भएको छ।

असार १ गते साँझ माथिल्लो भेगबाट मेलम्चीमा बाढी आयो भाग भनेर फोन आएपछि हतारहतार  सुरक्षित स्थानमा गएर बसेको जीवन तामाङको भनाइ छ।

‘असार १ गते राति  खोला आफ्नै बाटो भएर गयो, हामीले सोच्यौं कि अब त खोलाले बिगार नगर्ला। तर, पुनः २ र ३ गते साँझ बाढीसँगै आएको लेदो क्षणभरमै हाम्रो टोलसम्म आयो, हेर्दाहेर्दै तल्लो  घर बगाएर खोलाको बीच भागमा पुर्याइसकेको थियो,’ जीवनले भने। 

मेलम्चीमा बाढी आएको दुई साता बितिसकेको छ। स्थानीय तहले पीडितलाई शिर लुकाउन नजिकैको सरकारी विद्यालयमा अस्थायी क्याम्पको व्यवस्था मिलाइदिएको छ।

तथापि, त्रिपालको भरमा रात काट्दा सकस हुने स्थानीय हर्क शेर्पाको दुःखेसो छ। ‘बाढीले न घर रह्यो, न खेत! अब कसरी गुजारा चलाउनु, घरपरिवार कसरी पाल्नु,’ लामो सास फेर्दै उनी भन्छन्।

यता स्थानीय तहका जनप्रतिनिधिले भने राहत र पुनर्बासका लागि सक्दो प्रयास गर्दै आएको जनाएका छन्। मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्याल हालसम्म कति खेतीयोग्य जमिन बगायो भन्ने तथ्यांक निकाल्न पालिकाकै कृषि शाखा लागिरहेको र चाँडै यसबारे विवरण तयार हुने बताउँछन्।

‘अर्बौंको क्षति भएको छ, हामीलाई लयमा फर्किन पक्कै समय लाग्छ। तर, यतिकै मरुभूमिजस्तो पारेर म नगरलाई राख्दिनँ,’ अर्यालले भने।

हेलम्बू गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि आफ्नो पालिकाको खेतीयोग्य जमिन र ट्राउट माछा फर्ममा पुर्याएको क्षतिको विवरण निकाल्न कृषि शाखालाई निर्देशन दिएको जानकारी दिए।

Skip This
Skip This
Logo