सप्तरीको कञ्चनरुपमा १२ जना नयाँ क्षयरोगी भेटिए

सप्तरीको कञ्चनरुपमा १२ जना नयाँ क्षयरोगी भेटिए

केन्द्रबिन्दु
0
Shares

सप्तरी ।

सप्तरीको कञ्चनरुप नगरपालिकामा १२ जना नयाँ क्षयरोगका बिरामी देखापरेका छन् । स्वास्थ्य शाखा कञ्चनरुपले शुक्रबार आयोजना गरेको तेस्रो चौमासिक क्षयरोग सम्बन्धी गोष्ठिमा उक्त जानकारी दिइएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा सम्पन्न सो छलफलमा नयाँ क्षयरोगका बिरामी देखिएका मध्ये ९ जनाको फोक्सोमा कीटाणु देखिएको र ३ जनाको फोक्सो बाहेकका अंगमा कीटाणु देखिएको जानकारी दिइएको थियो ।

चार महिना पहिले दर्ता भएका ८ जना फोक्सोको क्षयरोगका बिरामीमध्ये ७ जनाको खकार नेगेटिभ आएको र १ जनाको मृत्यु भएको थियो । स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा दर्ता भएका १९ जना बिरामीमध्ये १७ जना निको भएको र २ जनाको मृत्यु भएको छ ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सुभाषचन्द्र झाले क्षयरोगको लक्षण र बिरामीको अवस्थाबारे जानकारी गराए । नियमित रुपमा औषधी सेवन गरेमा बिरामी निको हुने बताएका उनले औषधी सेवन नगर्दा मृत्युसम्म हुने चेतावनी दिए ।

स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बरप्रसाद गुप्ताले क्षयरोगका कीटाणुले आक्रमण गरेका व्यक्तिमध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकास हुने र तिनमा रोगका लक्षण देखा पर्ने बताए। तीन साता या सोभन्दा बढी समय खोकी लागे, खकारमा रगत देखिए, श्वास फेर्न गाह्रो भए वा छाती भारी भए, अकस्मात शरीरको धेरै तौल घटे, पसिना आउने भएर थकाइको महसुस भए क्षयरोगको आशंका गर्नुपर्ने र तत्कालै नजिकको स्वास्थ्य शाखामा सम्पर्क गर्नुपर्ने उनले बताए ।

चिकित्सकहरुका अनुसार क्षयरोगका कीटाणुबाट प्रभावित सबैलाई यो रोग लाग्दैन । क्षयरोगका कीटाणुले आक्रमण गरेका व्यक्तिमा पर्याप्त रोग प्रतिरोधात्मक क्षमता छ भने यो रोगले हानि पुर्याउन सक्दैन । तर कुपोषण र एचआईभी संक्रमित व्यक्तिमा भने यो रोग छिटो विकसित हुन्छ ।

सामान्यतया टीबी भनिने यस रोगका कीटाणुको सङ्क्रमणका कारण आज पनि विश्वको एकतिहाइ जनसङ्ख्या जोखिममा रहेको देखिन्छ । सङ्क्रमितमध्ये ७५ प्रतिशतलाई फोक्सोमै सङ्क्रमण हुने गरेकोले ‘शरीरको क्षति गर्ने क्षयरोग’ लाई आम मान्छेले फोक्सोसँग सम्बन्धित रोग ठान्छन् । तर शरीरका अन्य अंगमा पनि यसको संक्रमण हुन्छ र यस्तोमा फोक्सोभन्दा शरीरका अन्य अंगको उपचार गर्न असहज हुन्छ ।

प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाख व्यक्तिको ज्यान क्षयरोगकै कारण जाने गरेको अनुमान छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार प्रत्येक वर्ष करिब पाँचदेखि सात हजार नेपालीले क्षयरोगकै कारण ज्यान गुमाउने गरेका छन् । नेपालमा क्षयरोग उपचारका लागि चार हजार बढी क्षयरोग उपचार सम्बन्धी ‘डट सेवा’ केन्द्र छन् ।

क्षयरोगबाट जोगिन स्वस्थ जीवन नै पहिलो सर्त हो । स्वस्थ जीवनको पहिलो आधार हो – अनुशासित जीवनशैली । खानपान तथा आहारविहारमा पर्याप्त ध्यान दिन सके ब्याक्टेरियाजन्य सबै रोगबाट धेरै हदसम्म जोगिन सकिने राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजीतकुमार झाले बताए।रासस

Skip This
Skip This
Logo