अमेरिकाले नेपाल सरकारलाई कोभिड–१९ विरुद्धको १५ लाख भन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ।
अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको हो। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपाल सरकारलाई दिइएको जोन्सन एन्ड जोन्सन खोप हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री श्रेष्ठले अमेरिका सरकारले नेपाललाई दिएको खोप नेपाली जनताको जीवन रक्षाका लागि बरदानस्वरुप हुने बताए। प्राप्त भएको खोप प्राथमिकताका आधारमा जोखिम समूहलाई दिनेगरी छिट्टै खोप अभियान सञ्चालन गरिने उनले बताए।
मन्त्री श्रेष्ठले कोभिड–१९ संक्रमणको सुरुवाती चरणदेखि नै अमेरिकी सरकारले भेन्टीलेटर, परीक्षण किट, व्यक्तिगत सुरक्षा सामग्री लगायतको सहयोग गरेको भन्दै अमेरिकी सरकार, जनता र दूतावासप्रति आभार व्यक्त गरे। खोप सहयोग हस्तान्तरण गर्दै नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले खोप अमेरिकी जनताको तर्फबाट उपहार स्वरुप दिएको बताए। अमेरिकी सरकारले खोप कुनै काम लिन वा सुविधा पाउनका लागि नदिएको उनले स्पष्ट पारे। नागरिकको जीवनरक्षाका लागि खोप सहयोग दिइएको उनले बताए।
राजदूत बेरीले कोभिड–१९ को प्रतिकार्यका लागि अमेरिकी सरकारले नेपाल सरकारलाई हालसम्म ७ करोड डलरभन्दा बढी सहयोग गरिसकेको पनि उल्लेख गरे। आगामी दिनमा पनि नेपाली जनताको जीवन रक्षाको लागि अमेरिकी सरकार साथमै रहेको उनले बताए। प्राप्त भएको जोन्सन एन्ड जोन्सन खोप एक मात्रा मात्रै लगाए पुग्ने बताइएको छ।





























प्रतिक्रिया