सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन दिनलाई विशेष रुपमा मनाइन्छ ।
अधिकांश नेपाली खेतीपातीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलो मैलोले लाग्ने छाला सम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको हाे।
एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन्। परम्परा अनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ। महिलाले हरियो चुरा लगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको हाे।
साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ। साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ।
यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण आफन्तकहाँ जान सहज छैन। यसैले धेरैले घरमै परिवारका सदस्यबीच रमाइलो गरी पर्व मनाउँदैछन्।
कसरी फालिन्छ लुताे ?
वर्तमान समयमा प्रचलनमा रहेको मेषादि निरयण १२ राशिचक्र मध्ये चौथो साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ।
यस अन्तर्गत कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वासका साथ साँझमा कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधिजन्य वनस्पतिहरू जलाएर घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ।
लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ।
यसैबीच विभिन्न शिवालयमा आजबाट धार्मिक अनुष्ठान सुरु भएको छ। साउन महिनाभर शिवको पूजा आराधना गर्ने परम्परा छ। भक्तालुले विशेषगरी साउने सोमवार ब्रत बस्ने र शिव मन्दिरमा पुजाआजा गर्ने गर्दछन्। पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेवलगायत विभिन्न शिवालयमा आजबाट मेला शुरु भएको छ।
यसैगरी यो महिना महिलाहरु हरियो चुरा, पोते र हरियै वस्त्रमा सजिने छन्। सांस्कृतिक र धार्मिक दृष्टिकोणले समेत पवित्र मानिने यो महिनाले हिन्दू नारीहरुका लागि विशेष महत्व बोकेको हुन्छ।
साउन महिनाको सोमबार विधिपूर्वक पूजा आराधना गरी व्रत बस्नाले मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ। साउने सोमबारको व्रत बस्ने चलन शिव र पार्वतीको सम्बन्ध रहेसँगै सुरु भएको मानिन्छ।































प्रतिक्रिया