हरेक वर्ष बिरिङ खोलामा आएको बाढीले डुबान र कटानको समस्या झेल्दै आएका बाह्रदशी गाउँपालिकावासीले यो वर्ष भने राहतको महसुस गरेका छन् । बाह्रदशी–५ भएर बग्ने बिरिङ खोलाको पूर्वी क्षेत्रमा पक्की बाँध बाँधिएपछि गाउँपालिकावासीले राहतको महसुस गरेका हुन् ।
सङ्घीय सरकारअन्तर्गत जनताको तटबन्ध फिल्ड कार्यालय गैँडेको तीन करोडको लागतमा बिरिङ खोलाको पूर्वी भू–भागमा तटबन्ध गरिएसँगै बाह्रदशीबासी डुबान र कटानको समस्याबाट मुक्त भएको बाह्रदशी–५ का वडाध्यक्ष भूपेन्द्र कटुवालले जानकारी दिए ।
उनका अनुसार हरेक वर्ष वर्षायाममा वडा नम्बर ५ को पश्चिमी क्षेत्रबाट बिरिङ खोलाको पानी बस्तीमा पसेर डुबान हुने गरेको थियो तर यो वर्ष झण्डै एक किलोमिटर खोलाको तटीय क्षेत्रमा बाँध बाँधेपछि डुबान र कटानको समस्या हल भएको हो ।
सो वडास्थित बिरिङ खोलाको तटीय भू–भागमा तटबन्ध गरिएसँगै वडा नम्बर ५ सहित १, २, ३ र ४ नम्बर क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्”,– वडाध्यक्ष कटुवालले भने । यसअघि वडा नम्बर ७ को डाँगीबारी पश्चिम पनि बिरिङ खोलामा पक्की बाँध बाँधेका कारण सिङ्गो डाँगीबारी बजार सुरक्षित भएको छ । अघिल्लो आर्थिक वर्ष यो क्षेत्रमा दुई चरण गर्दै झण्डै पाँच करोडको लागतमा बिरिङ खोलामा बाँध बाँधिएको बाह्रदशी–७ का वडाध्यक्ष मित्रराज भट्टराईले जानकारी दिए ।
हरेक वर्ष बिरिङ खोलामा आउने बाढीले यो क्षेत्रको सयौँ बिघा खेती योग्य जमीन डुबानमा पर्ने गरेको थियो भने नदी कटानको समस्याले बस्ती नै सार्नुपर्ने अवस्था थियो । वडाध्यक्ष भट्टराईले भने, “बिरिङ खोलामा बाँध बाँधेपछि सिङ्गो बाह्रदशीवासी सुरक्षित छौँ ।”





























प्रतिक्रिया