वैकल्पिक बाटो नहुँदा बन्चरेडाँडामा तत्काल फोहाेर व्यवस्थापन गर्न समस्या

वैकल्पिक बाटो नहुँदा बन्चरेडाँडामा तत्काल फोहाेर व्यवस्थापन गर्न समस्या


वैकल्पिक बाटो निर्माण नहुँदासम्म निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा तत्काल फोहाेर विसर्जन गर्न नसकिने भएको छ। काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहाेरको दीर्घकालीन व्यवस्थापन गर्ने भन्दै केन्द्र सरकारले दुई वर्ष अघिदेखि धादिङ र नुवाकोट जिल्लाको सिमाना बन्चरेडाँडामा फोहाेर विसर्जनस्थल निर्माण कार्य गरिरहेको छ। 

अहिले निर्माण कार्यअन्तर्गत पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेको छ। अबको १० दिनपछि उक्त स्थानमा फोहाेर राख्न सकिने छ। हाल फोहाेर व्यवस्थापन गरिरहेको स्थान स्यानिटरी ल्याण्डफिल साइट सिसडोलबाट बन्चरेडाँडामा जानका लागि बाटोको समस्या हुँदा तत्काल उक्त स्थानमा फोहाेर राख्न नसकिने शहरी विकास तथा भवन निर्माण विभागले जानकारी गराएको छ। 
 
विभागका उपमहानिर्देशक कुमार घिमिरेका अनुसार उपत्यकाबाट फोहाेर बोकेर गाडीले सिसडोल पार नगरी दीर्घकालीन फोहाेर व्यवस्थापनस्थलसम्म पुग्नका लागि वैकल्पिक बाटो छैन। अहिले सिसडोलमा अत्यधिक फोहाेरको थुप्रो छ, उक्त थुप्रो लोड भएको गाडीले पार गर्दा जतिबेला पनि पहिरो जाने वा भासिने डरका कारण तत्कालै बन्चरेडाँडामा फोहाेर व्यवस्थापन गर्न कठिन भएको हो।   

अन्यत्र बाटो खोज्ने र तत्काल दीर्घकालीनरूपमा फोहाेर व्यवस्थापनस्थलसम्म कसरी जान सकिन्छ भनी सम्बद्ध निकायसँग छलफल भइरहेको पनि विभागले जानकारी दिएको छ। सिसडोलदेखि दीर्घकालीन फोहाेर निर्माणाधीन व्यवस्थापनस्थलसम्म जाने करिब दुई किलोमिटर सडक भने यसअघिनै निर्माण सम्पन्न भइसकेको छ। 

सेल वान र सेल टु गरि दुई भागमा विभाजन गरि निर्माणको काम भइरहेको छ। सेल वान निर्माण सम्पन्न अन्तिम चरणमा रहेकाले बाटोको व्यवस्था भए तत्कालै  फोहाेर व्यवस्थापन  गर्न सकिने छ। उक्त स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहाेर विसर्जनस्थल निर्माण भइरहेको छ।

बन्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो। शुरुमा सम्झौता गरिएको समयसीमा सकिई २०७७ वैशाखमा पुनः एक वर्षका लागि समय थपिएको थियो। निर्माणका लागि रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा सम्झौता भएको थियो।

उपत्यकाको फोहाेर व्यवस्थापन भइसक्यो: कामपा

काठमाडौँ महानगरपालिकाले विगत एक हप्तादेखि उठ्न नसकेको काठमाडौँ उपत्यकाको विभिन्न स्थानको फोहर व्यवस्थापन भइसकेको जनाएको छ। अनामनगर, बानेश्वर, कालीमाटी, रविभवन र असनलगायत स्थानमा फोहर नउठेको गुनासो बढिरहँदा बुधबार साँझसम्ममा सबै स्थानको फोहर व्यवस्थापन भइसकेको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए।  

प्रमुख श्रेष्ठले भने, “वर्षाको समयमा उपत्यकामा अन्य समयको भन्दा बढी फोहाेर उत्पादन हुने र बाटोका कारण नियमित व्यवस्थापन गर्न केही कठिन भए पनि हालका लागि समस्या समाधान भएको छ।” छिटफुटरुपमा केही स्थानमा फोहाेर बाँकी रहेको देखेमा तत्काल विभागलाई जानकारी दिन पनि श्रेष्ठले नगरवासीलाई आग्रह गरेका छन्।  

वर्षाको समयमा फोहाेर बढी उत्पादन हुने र व्यवस्थापन गर्न थप समस्या हुने भएकाले कामपाले सम्बद्ध निकायलाई सक्दो छिटो सिसडोल पार गर्ने व्यवस्था मिलाई दीर्घकालीनरूपमा फोहाेर व्यवस्थापनको प्रबन्ध मिलाइदिन अनुरोध गरेको छ। तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाका १८ स्थानीय तहको फोहाेर विसर्जन गरिँदै आएको छ। अव्यवस्थितरूपमा लामो समयदेखि एकै स्थानमा फोहर विसर्जन गर्दा समस्या आएपछि स्थानीयवासीले व्यवस्थितरूपमा फोहाेर व्यवस्थापनस्थलको खोजी गर्न आग्रह गर्दै समय समयमा विरोध गर्दै आएका छन्। 

उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ। त्यसमा सबैभन्दा बढी कामपाबाट करिब ६०० मेट्रिक टन फोहर निस्कने गरेको छ। दैनिक उत्सर्जन हुने फोहाेरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। सामान्यतया प्रत्येक दिन उपत्यकाबाट निजी र महानगरपालिकाका गरि २०० गाडी फोहाेर विसर्जनका लागि सिसडोल लगिने भए पनि अहिले वर्षाको समय भएकाले दैनिक १०० मात्र फोहरका गाडी विसर्जनस्थलमा पुग्ने गरेका छन्।रासस

Logo