संखुवासभा हत्याकाण्ड : घर नजिक रगत लागेको रड फेला

संखुवासभा हत्याकाण्ड : घर नजिक रगत लागेको रड फेला

केन्द्रबिन्दु
0
Shares

संखुवासभाको मादी नगरपालिका वडा नम्बर–१ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटना अनुसन्धानको क्रममा प्रहरीले रगत लागेको रड फेला पारेको छ।

जुन रडलाई प्रहरीले हत्यामा प्रयोग भएको ठानेको छ। घटनाको अनुसन्धानमा रहेका एक प्रहरी अधिकारीले उक्त रड मृतकहरूकै घर छेउमा फेला परेको बताए।

‘रडमा रगतको टाटा छ’, ती प्रहरी अधिकारी बताउँछन्।

घटनामा संलग्न भएको भन्दै प्रहरीले छिमेकी अन्दाजी २६ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी अुनसन्धान उनीविरुद्ध केन्द्रित छ।

अन्दाजी १८ वर्षीय भाइको सटमा रगत लागेको र धोएको अवस्थामा फेला परेपछि सोधपुछ गर्दा दाजुले लगाएको भाइको वयानसँगै प्रहरीले ती दाजुमाथि अनुसन्धान केन्द्रित गरेको हो।

अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले ती युवकको नाम सार्वजनिक नगर्न आग्रह गरेको छ।

उनको मानसिक सन्तुलन पनि ठिक नभएको पाइएको ती प्रहरी अधिकारीले बताए।

‘यो घटनामा यो युवकको संलग्नता रहेको हामीलाई ९० प्रतिशत विश्वास छ, उनले घटना घटाएको भन्ने ‘क्लु’ हरू फेला पर्दैछन्, बाँकी केही प्रमाण मात्रै फेला परेपछि हामी निष्कर्षमा पुग्छौं’ ती प्रहरी अधिकारीको भनाइ छ।

शंकास्पद रहेको भन्दै प्रहरीले युवकलाई मंगलबारदेखि नै निगरानीमा राख्दै आएको थियो।

सोमबार बौद्धमान कार्कीका श्रीमती पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला कार्की, नातिनी बुहारी रञ्जना कार्की, पनाति विपीन कार्की र पनातिनी गोमा कार्कीको हत्या भएको थियो।

घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानदेखि प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट प्रहरी नायव उपरीक्षक ध्रव कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभादेखि प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीलगायतको टोली छ।

Logo