दसैंका लागि भारतबाट घर फर्किने नेपाली बढ्दै

दसैंका लागि भारतबाट घर फर्किने नेपाली बढ्दै

केन्द्रबिन्दु
0
Shares

दसैं तिहार जस्ता चाडपर्व नजिकिँदै गएपछि भारतबाट घर फर्किने नेपाली सीमामा बढ्न थालेका छन् । 
यहाँका पुलघाट नाका, दत्तु नाका, लेकमको लाली नाका र व्यासको तिगरम नाका भएर अहिले दिनहुँ घर फर्किने नेपाली बढ्न थालेका छन् । 

भारतबाट घर फर्किनेको सीमामा स्वास्थ्य परिक्षणसमेत गरिन थालेको छ । असोजयता सय बढी नेपाली खलङ्गा पुलघाट नाका भएर घर फर्किएको नेपाल प्रहरीका पुलघाट इन्चार्ज मनोज खड्काले जानकारी दिए ।

पुलघाटमा भारतका विभिन्न क्षेत्रबाट फर्किने नेपालीको अहिले तथ्याङ्क नियमित राख्न थालेको खड्काले बताए । 

“खेतीको काम पनि आयो, दसैं पनि नजिकिन थाल्यो”, बुधबार पुलघाट नाका भएर घर फर्किएका बझाङको बुगल नगरपालिका–८ का प्रकाश बोहराले भने, “अब दसैंतिहार मनाएर फेरि भारत फर्किन्छौं ।” 

उनी पिथौरागढ डिडिहाटमा काम गर्न गएका थिए । यहाँका अधिकांश व्यक्ति भारतबाट दसैंतिहारमा घर फर्किने गर्छन् । अहिले गाउँमा धान काट्ने, मकै काट्ने, खर काट्नेलगायतको कामको चटारो हुने भएपछि घर फर्किने बढेका हुन् ।

अहिले दार्चुलाबाट धनगढी तथा महेन्द्रनगर जाने बस पनि खचाखच भरिन थालेका छन् । चाडपर्वका कारण अहिले बसहरुमा यात्रु भरिन थालेको सुदूरपश्चिम यातायात काउन्टरका पूर्णबहादुर बमले बताए । 

सीमामै कोरोनाविरुद्वको खोप

स्वास्थ्य कार्यालयले भारतबाट आउने नेपालीलाई सीमा पुलमै कोरोनाविरुद्वको खोप लगाउन थालेको छ । भारतका विभिन्न क्षेत्रबाट मजदूरी गरी फर्कने नेपालीलाई सदरमुकाम खलङ्गा पूलघाटमा कोरानाविरुद्वको खोप लगाउन थालिएको हो ।

भारतको धारचुला जोड्ने खलङ्गा पूलघाटमा दसैंतिहारका लागि घर फर्किने नेपालीलाई जोनसोन खोप लगाउन थालिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । 

अहिले सीमामा भारतबाट फर्किने नेपाली बढ्दै गएका छन् । आइतबार पूलघाटमा भारतबाट आउने २५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । टाढाबाट फर्किएकाको कोरोना परीक्षण तथा कोरोनाविरुद्वको खोप लगाउन थालिएको भट्टले जनाए ।  । रासस
 

Skip This
Skip This
Logo