निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

केन्द्रबिन्दु
0
Shares

खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा निजी आवास पुनःनिर्माणको काम ७५.०८ प्रतिशत मात्र सम्पन्न भएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

नेपालमा भूकम्प गएको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोमबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको निजी आवास पुनःनिर्माणसम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रममा प्राधिकरणले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त नौ हजार ३१० लाभग्राहीमध्ये सात हजार ३९८ घर लाभग्राहीले पुनःनिर्माणको काम सम्पन्न गरेर तेस्रो किस्तासमेत लिएको जनाइएको छ ।

पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ खोटाङका अनुसार २४२ घर लाभग्राहीले अहिलेसम्म आफ्नो निजी आवास पुनःनिर्माणका लागि सम्झौता नै नगरेको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ६० लाभग्राहीले दोस्रो किस्ता लिएको पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ खोटाङका प्रमुख घनश्याम उपाध्यायले बताए ।

भूमिहीनलाई जग्गा खरिद गर्न उपलब्ध गराइने दुई लाखका लागि जिल्लाभरमा पाँच जना पहिचान भएकामा चार जनाले उक्त रकम बुझेको र बाँकी एक जनासँग पनि सम्झौताको काम सम्पन्न गरिएको कार्यान्वयन एकाइका सूचना अधिकारी मणिराम ढकालले जानकारी दिए ।

पुनःनिर्माण प्रबलीकरणतर्फ ९७१ घर लाभग्राही छनोट भएकामध्ये ७८५ घरले सम्झौता गरेर काम थालेको र १८६ घरले सम्झौता नै नगरेको जनाइएको छ । सम्झौता नगर्नेमा अधिकांश जिल्ला छाडेर बाहिर घर बनाएर बसेका तथा कतिपय लाभग्राहीको मृत्युसमेत भएको पाइएको प्राधिकरणले जनाएको छ ।

Logo