काठमाडौं महानगरपालिकाले दसैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ।
काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दसैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारबाट सुरु गरिएको जानकारी गराएका हुन्। ३ दिनसम्म चल्ने यो खोप अभियान महानगरपालिका अन्तर्गतको ३२ वटा वडाका ३४ स्थानबाट लगाउन पाउने व्यवस्था गरिएको छ।
चाडपर्वका कारण भिडभाड हुने र कोभिड–१९ को पनि जोखिम बढ्ने भएकाले त्यसैलाई मध्यनजर राखेर सो खोप कार्यक्रम संचालनमा ल्याइएको काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले तत्कालका लागि ७० हजार खोप जिल्ला जनस्वास्थ्य कार्यालयबाट व्यवस्था गरिएको र त्यसले नपुगे थप खोपको व्यवस्था पनि हुने बताए।
काठमाडौं महानगरपालिकाले विरामी नागरिकहरुलाई भने लाइन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको जानकारी गराएको छ। स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले विरामीहरुका लागि लाइन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको बताए। उनले पहिलो चरणको यो भेरोसेल खोप लगाउनेहरुलाई दशैं तिहारको बीचमा दोस्रो चरणको खोप लगाउने पाउने व्यवस्था मिलाउने जानकारीसमेत दिए।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने कार्यमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ। परिचय पत्र नखुलेका नागरिकले वडा कार्यालयको सिफारिसमा सो खोप लगाउने पाउने व्यवस्था पनि गरिएको स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले बताए।































प्रतिक्रिया