दसैँ मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को

दसैँ मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को


नेपालीहरूको महान् पर्व दसैँ मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ ।

सुदूरपश्चिमका नागरिकहरूको रोजगारीको प्रमुख गन्तव्य स्थल भारतका विभिन्न सहरबाट चाडपर्व मनाउन गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको संख्यामा उल्लेखनीय वृद्धि भएको हो । गत दुई साता यता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । गौरीफन्टा नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५ सय जनासम्म नेपाल प्रवेश गरिरहेको त्रिनगर सिमानाकाका प्रमुख हेल्थ डेस्क दिनेश ठकुल्लाले बताए । स्वदेश फर्किनेको भीड बढेसँगै प्रहरीले सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाएको बताएका छन् ।

उनले भने, ‘नेपाली नागरिकहरू भारत जाने भन्दा पनि आउनेको संख्या नै बढी छ, विगत दुई हप्ता यता आउनेको संख्या बढेको छ र जानेको संख्या एक्कासि घटेको छ, अहिले दिनमा ६ देखि ८ सय हाराहारीमा आइरहेका छन्, जानेको संख्या डेढ सयदेखि २ सय जना छन्, पहिला जानेको संख्या ३ देखि ४ हजारसम्म हुन्थ्यो भने, ४ देखि ५ सयसम्म हुन्थ्यो, बाजुरा, अछाम, विकट ठाउँका नेपालीहरू रोजगारीको लागि जाने गरेका छन् ।’

भारतको दिल्ली, मुम्बई, महाराष्ट्र, पन्जाब, पुने, बैङ्गलोर, सिमला, हरिद्वारलगायतका सहरमा नेपाली रोजगारीका लागि सदियौँदेखि आउने जाने गरेको स्वास्थ्यकर्मी गणेश साउदले बताए । उनले भारतबाट गाउँ फर्किनेबाट कोभिड संक्रमणको जोखिम रहेकाले सीमामा कोरोना परीक्षण र खोप लगाउने कामलाई पनि तीव्रता दिइएको बताए । उनले कोरोनाका साथै नेपाल फर्किनेहरूको सीमामा मलेरिया र एचआइभीको परीक्षण पनि गरिएको बताए ।

उनले भने, ‘परीक्षणको दायरा हामीले दिनप्रतिदिन बढाइरहेका छौँ,सुरुमा कोभिड १९ लाई फोकस गरेर कोरोना मात्र टेस्ट गरिरहेका थियौँ भने बिचदेखि मलेरिया, एचआइभीको स्क्रिन चेक पनि गरिरहेका छौँ ।’

गड्डाचौकी र गौरीफन्टा नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर पनि निगरानी बढाइएको छ । यात्रुको सहजताका लागि भन्दै प्रहरीले यात्रु सहायता कक्ष पनि स्थापना गरेको स्वास्थ्यकर्मी साउदले बताए ।

Logo