३ कात्तिक २०७८ बुधबार

झुगलापाटा भीर फुटेर कर्णाली नदी थुनियो, प्रहरी चौकी र वडा कार्यालयको सामान सारिँदै

बाजुराको स्वामीकार्त्तिक खापर गाउँपालिका-१ मा रहेको झुगलापाटा भिर फुटेर कर्णाली नदी थुनिएको छ। जगन्नाथ गाउँपालिकाको कार्यालय जुड्डीपारी पट्टि रहेको भिर फुटेर सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको हो।

करिब दुई महिना पहिलेदेखि बेला बेला भिरबाट पहिरो जान थालेपछि नदी थुनिने खतरा बढेको स्थानीयले बताएका छन्। दुई महिनायताको लगातार सुख्खा पहिरोले गर्दा कर्णाली नदी थुनिन थालेपछि नदी आसपास तथा छेउछाउमा बसोबास गर्ने स्थानीय त्रसित भएका छन्।

झुगलापाटा भिर फुट्दा स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं एक रुडी गाउँ, जगन्नाथ गाउँपालिकाको कार्यालय, जुड्डी प्रहरी चौकीलगायतका आसपासका क्षेत्र उच्च जोखिममा परेका बताइएको छ। बेला बेला बग्ने पहिरोबाट कर्णाली नदी थुनिन थालेसँगै नदी आसपास क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई समस्या भएको बताइएको छ। कर्णाली प्रदेशको हुम्ला, मुगुसँगै बाजुरा हुँदै बग्ने कर्णाली नदीमा सुख्खा पहिरो खस्दा नदीको पानी थुनिएपछि वरपरका बस्ती समस्यामा परेका हुन्।

स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं एकको रुडि गाउँको तल र छुद्यदरी गाउँको नजिकै सुख्खा पहिरो खस्दा कर्णालीको केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। एक्कासी पहिरो खस्दा आज विहान १०/१५ मिनेटसम्म कर्णाली नदी थुनिएपछि नदी वरपरका स्थानीय आत्तिसकेका भए पनि केहीबेर पछि नदीको एक तर्फबाट पानी बग्न सुरु भएको स्थानीयले बताएका छन्। स्वामीकार्त्तिकको रुडि गाउँको आसपासबाट पनि निरन्तर पहिरो जान थालेपछि रुडि गाउँका करिब १५० बढी घरपरिवार उच्च जोखिममा रहेको स्थानीय नन्दबहादुर खत्रीले बताए। गाउँको माथि र तलबाट कडा चट्टान फुट्न थालेपछि गाउँ नै जोखिममा रहेको उनको भनाइ छ।

योसँगै जगन्नाथ गाउँपालिका र जुड्डी प्रहरी चौकी पनि जोखिममा परेको भन्दै कार्यालयका सामान अन्यन्त्र सार्न थालेको जुड्डी प्रहरी चौकीले जनाएको छ। जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टी स्वामीकार्त्तिकको छुद्दरी गाउँ नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुंगा, माटो थुप्रिएपछि नदी थुनिएको शिक्षक दानबहादुर धामीले बताए। यसअघि गत साउनमा पनि पहिरो जाँदा कर्णाली नदी थुनिएको थियो।

एंकर

प्रकाशित: २७ असोज २०७८ ०६:०४ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी