लेकाली समुदायलाई छुँदैन दसैँ तिहारले, चौँरी हेर्दैमा बित्छ दिन

लेकाली समुदायलाई छुँदैन दसैँ तिहारले, चौँरी हेर्दैमा बित्छ दिन

केन्द्रबिन्दु
0
Shares

आज दशैंको मुख्य दिन हो। मान्यजनहरूको हातबाट टीका लगाउने र आशिर्वाद लिने दिन हो। आज टीका लगाउन र आशिर्वाद लिन प्रायः सबै व्यस्त छन्। तर लेकाली समदायहरूको न त दसैं आउँछ, न त तिहार नै। तिनै लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा। उनी फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका स्थानीयवासी हुन्। उनी चौँरी याकहरूसँग रमाउन थालेको ६५ वर्ष नै भयो। किनकि उनी चौँरी याक गोठमै जन्मेर चौँरी याकहरूको पछिपछि लाग्दै अहिले ६५ वर्ष पुगेका हुन्। 

समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाईमा अवस्थित मौवटारमा याक गोठ उनले सारेका हुन्। छोरा छोरीलाई अंशको रूपमा सबैलाई याक बाँडिदिएर उनीसँग ३० वटा याक रहेका छन्। १० वटा दुहुनो याक उनीसँग छन्। बिहान उठ्ने बित्तिकै एक मग दुध चिया लिएपछि झिसमिसमै दुहुनो याकहरू बटुलेर दुध दुहुँदै घाम शिरमाथि पुग्छ।  

चौँरी याकहरूलाई चरन क्षेत्रमा पुर्याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ। बिहानको दुधलाई मोही, घिउ र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगेको हुन्छ। साँझ परेपछि  चारतिर छरिएर रहेका चौँरी याकहरूलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म पारी डाँडामा जुन उदाएको हुन्छ। 

लेकाली बस्तीका समुदायहरूको दैनिकी हो यो। लेकाली समुदायहरूको मुख्य पुर्खौली पेसा चौँरी याक पालन हो। वर्ष दिनमा आउने चाडबाड दसैं तिहार वस्तुभाउका कारण चासो दिन नसकिएको फक्ताङलुङ गाउँपालिका-७ का हेम्वे शेर्पाले बताए। 

चौँरी याकहरूसँग हिमाल डुल्दाडुल्दै कतिखेर दसैं आउँछ, कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको स्थानीय तेन्जिङ शेर्पाले बताए । समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइमा अवस्थित मौवटारमा चारवटा घुम्ती गोठहरू छन्। सिंजेमा पोखरी क्षेत्रमा तीनवटा घुम्ती गोठहरू रहेका छन्। याङमा क्षेत्रमा नौ वटा याकहरूको घुम्ती गोठहरू रहेका छन्। मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा ३५ वटा चौँरी याकहरूको घुम्ती गोठ रहेका मिक्वाखोला गाउँपालिका-५ का वडा अध्यक्ष डण्डु लामाले बताए। 

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँका धेरै लेकाली बस्तीहरू छन्। हिमाली बस्तीमा बासोबास गर्ने समुदायहरूले पशुपालनमा निर्भर हुने भएकाले दसैँको खासै महत्व नहुने फक्ताङलुङ-७ का स्थानीय चुङदाक शेर्पाले बताए। 

सहर बजारमा दसैंको उत्साह छाएको छ। तर, हिमाली बस्तीहरूमा दसैं तिहारको न त उत्साह न त उमङ्ग दैनिकी चौँरी याकसँगै हिमालका टाकुराडाकुराहरू चहार्दै अस्ताउँछ घाम।न्युज कारखाना  

Skip This
Skip This
Logo