दसैं सुनसानः सुनिएन मालश्री धुन, देखिएनन् चङ्गा

दसैं सुनसानः सुनिएन मालश्री धुन, देखिएनन् चङ्गा


नेपालीको महान् चाड दसैंको पहिलो दिन घटस्थापनादेखि नै  टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर र शहर बजारमा गन्धर्वहरुले मालश्री धुन बजाएको खासै सुनिएन। बिहानै घर, कोत वा शक्तिपीठहरुमा दुर्गा जगाउँदै मालश्री गाउँदा दसैं आएको सङ्केत हुने गरे पनि म्याग्दीमा भने केही समययता मालश्रीका स्वर सुनिन छोडेका छन्।

पहिले प्रत्येक घरघरमा नवरात्रमा मालश्री गाए पनि हाल यो देख्न र सुन्न नपाएको बेनीबजारका श्याम हुमेनले बताए। “घटस्थापनादेखि पूर्णिमासम्म दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो”, हुमेनले भने। आजभोलिजस्तो सङ्गीत सुन्ने सुविधा नभएको त्यो समयमा घरघरमा र टोलटोलमा सुनिने मालश्रीको धुनमा गाइने भजनले नै दसैंको महत्व बढाउने गर्दथ्यो। तर, आजकल रेकर्ड भएर रेडियो टिभी र मोबाइलमा मात्रै मालश्री सुन्न पाइने उनको भनाइ छ।

सूचना र सञ्चारको विकाससँगै युवाहरु आधुनिक पाश्चात्य संस्कृतितर्फ आकर्षित भएका कारण धुन बजाउन जान्ने मान्छेको कमी, गाउने मान्छेको अभाव र परम्परागत लोक संस्कृतिमाथि आजका युवाको चासो नभएकाले नै  मालश्री धुन सुनिन छाडेको बगरफाँटका ८६ वर्षिय वेदप्रसाद उपाध्यायले बताए। पछिल्लो समयमा मालश्री भाका र धुन रेडियो टिभीमा मात्र सुन्न पाइने गरेको गाउँघरमा सुनिन छोडेको उनको भनाइ छ। 

केही बूढापाका वा दक्खल भएका व्यक्तिले मात्र मालश्री धुन बजाउन र भजन कीर्तन गर्न सक्ने भएका कारण समय क्रमसँगै मालश्री लोप हुँदै गएको जानकारहरु बताउँछन्।

नेपाली संस्कृतिभन्दा पश्चिमा संस्कृतिमा रमाउन थालेपछि यसको लोप हुँदै गएको खड्गभवानी कोत पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे बताउँछन्। किंवदन्तीअनुसार देवीको गुनगानका लागि यो धुन बजाइने हो। पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो। मालश्री धुनलाई शास्त्रीय धुन भनिन्छ।

त्यसैगरी दसैंमा चङ्गा उडाएर रमाइलो गर्ने पुरानो चलन पनि अहिले लोप भएको छ। मनोरञ्जन, प्रतिस्पर्धा र धार्मिक विश्वासको रूपमा दशैंमा उडाउने गरिएको चङ्गा पछिल्लो समय खुला आकाशमा रङ्गमय चङ्गा उडेको कतै नदेखिएको मालिकाका शिद्ध पुनले बताए। अहिलेका युवा पुस्ता मोवाइल, ट्याबलेट, ल्यापटपजस्ता सूचना प्रविधिका साधनहरुमार्फत  मनोरञ्जन प्राप्त गर्ने होडबाजीमा लागेका कारण चङगा उडाउने चलन लोप भएको जानकारहरु बताउँछन्। अग्ला अग्ला भवन ठडिएका कारणले पनि चंगा संस्कृति लोप हुँदै गएको उनीहरुको भनाइरहेको छ। 

दसैंलाई मासुका परिकार खाने, साथी संगातीहरु भेट हुने,रमाइलो गर्ने, नयाँ कपडा लगाउने र चङ्गा उडाउने पर्वका रूपमा मानिन्छ। केही वर्षअघिसम्म तिजको लगत्तै आकाशमा रङ्गीबिरङ्गी चङ्गा उडेको दृश्य देखिन्थ्यो तर योपटकको दसैंमा एउटै चङ्गा उडेको आफूले नदेखेको बेनीका युवा किशोर श्रेष्ठले बताए।  

मनोरञ्जनका सामग्रीको तीव्र विकाससँगै अहिलेका पुस्ता चङ्गा उडाउनेभन्दा पनि त्यही मनोरञ्जनका सामग्रीमै रमाउनु र चङ्गा उडाउन खुला ठाउँ अभाव हुँदा घरको छतबाट चङ्गा उडाउँदा दुर्घटना हुन थालेपछि अहिले यसप्रतिको आकर्षण घटेको खबराका राजाराम शर्माले बताए। अचेल लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्छ।रासस

Logo