चन्द्रशमशेरकी पत्नीले भोक हडताल गरेर निर्माण भएको पुल जीर्ण अवस्थामा

चन्द्रशमशेरकी पत्नीले भोक हडताल गरेर निर्माण भएको पुल जीर्ण अवस्थामा


चन्द्रशमशेर राणाकी पत्नी बालकुमारी शाहले विक्रम संवत् १९८० माइती गाउँमा खानेपानी, पुल नभएकाले तत्काल निर्माण गर्न माग राखी दरबार भित्र भोग हडताल गरी मेटलामा निर्माण गरिएका पुल जीर्ण हुँदा मर्मततर्फ ध्यान दिएको छैन । 

विक्रम संवत् १९८० सालमा मटेलास्थित भेरी नदीमा बनेको पुलले रुकुम र जाजरकोट जोडने काम गरेको थियो । त्यति बेला यस पुलले केन्द्र सरकार र जाजरकोटलाई समेत ऐतिहासिक रूपमा जोड्ने काम गरेको थियो । जाजरकोट राजा जङ्गबहादुर शाहका कान्छा छोरा लेप्टेन कर्णेल हरिविक्रम शाहकी छोरी बालकुमारी शाहको विवाह विक्रम संवत् १९६५ सालमा श्री ३ चन्द्रशमशेर राणासँग भएको थियो ।

चन्द्रशमशेरले बालकुमारीलाई तिम्रो माइती देशको समस्या के छ भनेर सोध्दा भेरी नदी तर्न पुल र खानेपानीको समस्या छ भनेर भन्दा तत्काल उक्त कुरा पूरा गरिदिनु भनी चन्द्रशमशेरले आदेश दिएको  एक थरीको भनाइ छ भने अर्को थरीको भनाइमा बालकुमारीले पुल र खानेपानीको व्यवस्था गरिदिन आफ्ना पति चन्द्रशमशेरलाई आग्रह गरेकी थिइन् । 

बालकुमारीको कुरालाई चन्द्रशमशेरले खासै चासो नदेखाएपछि उनले भोक हडताल नै गर्नुपरेको थियो । ‘जबसम्म मेरो माइती देशमा खानेपानी र भेरी नदीमा पक्की पुल हुँदैन तबसम्म दरबारको भुजा खान्न’ भनेर अड्डी लिएपछि पुल र धारा बनाउन भीमशमशेरले १९७३ मा आदेश दिएको कुरा राजुराजा सिंहको जाजरकोट परिचय पृष्ठ ८ र ३२ मा उल्लेख छ ।

तत्कालीन सरकारले पुल बनाउन बेलायत सरकारको सहयोग लिएको थियो । बेलायतको स्कटल्यान्डका एक इन्जिनियरको स्टिमेट तथा डिजाइनमा बनेको यो पुल एक शताब्दी पुग्न लाग्दा पनि जस्ताको तस्तै छ । दाङको कोइलावास नाकाबाट हात्तीद्वारा पुलका लागि आवश्यक पर्ने फलामे (लहरा) लठ्ठा ल्याइएको थियो । जाजरकोटवासीले पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी लगायतका काममा श्रमदान गरेका थिए ।

यो झोलुङ्गेपुलमा सुरुमा काठका फल्याक राखिएको थियो । दश दश वर्षमा काठ फेर्ने गरिन्थ्यो । ५० को दशकपछि स्टिल पार्ट राखिएको छ । तत्कालीन जाजरकोट राज्यले उक्त पुल तरेबापत कर लिने गर्दथ्यो । एक पटक पुल तरेको सुरुमा दुई पैसा, पाँच पैसा हुँदै १० पैसासम्म असुल गर्ने गरेको बुढापाकाहरू भनाइ छ । २०१८ सालपछि राज्य रजौटा उन्मूलन गरिएपछि तत्कालीन पञ्चायत सरकारले २५ पैसा हुँदै ५० पैसासम्म कर असुली गरेको पाइन्छ । बहुदलीय व्यवस्थाको पुनर्स्थापनासँगै पुल तरेको कर लिन पनि बन्द भएको थियो ।

सदरमुकाम खलंगाबाट छ किलोमिटरको दूरीमा रहेको मटेला पुल क्षेत्र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने ठाउँ हो । चलचित्र छायाङ्कनका लागि पनि यो क्षेत्र उपयुक्त मानिन्छ । पुल बनेको चार वर्षपछि अर्थात् १९८४ सालमा बुदबुदीबाट पानी ल्याएर खलंगामा खानेपानी ल्याइएको थियो । जाजरकोट दरबार रहेको खलंगा क्षेत्रमा खानेपानीको निकै समस्या थियो । सदरमुकाम आसपासमा रहेका मुहान गर्मी याममा सुक्ने भएकाले मानिसहरू कोठखोला, फूलबारी, मूलपानी, स्यालालगायतका ठाउँबाट पानी बोके र ल्याउने गर्दथे । दरबारमा सबै रैतीले पालैपालो पानी बोकेर पुर्‍याउनु पर्थ्यो । आयोजना सम्पन्न भएपछि खलंगामा २४ सै घण्टा आउने १० कलधारा सञ्चालनमा ल्याइएको थियो ।

खानेपानी पुगेपछि खलंगावासी निकै खुसी भएका थिए । चारैतिर वनजंगलले घेरिएको बुदबुदी क्षेत्र निकै मनमोहक छ । त्यति बेला निर्माण गरिएको सदरमुकामका कतिपय धाराहरू हटाइए पनि बुदबुदी क्षेत्रमा निर्माण गरिएका खानेपानीका ट्यांकी संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । खानेपानी र पुलको समस्या समाधान गरिदिएकोमा अहिले पनि राजकुमारी बालकुमारी शाहलाई जाजरकोटवासीले सम्झिरहन्छन् । उनको योगदानलाई जाजरकोटवासीले उच्च कदर तथा सम्मान गरिरहेका छन् ।

अहिले उनले पहलमा निर्माण भएका संरचनाहरू जीर्ण भए पनि मर्मततर्फ ध्यान भने कसैको गएको छैन । पुल राखिएका फलामका पिलेटहरू निकालिएका छन्, लठ्ठाहरू चुँडिएका छन् । न्युज कारखाना

Logo